साँगुरीगढी (धनकुटा) ।
असार ५ गतेको बिहान ६ बजे । डाँडाबजारको कुहिरो अझै फाटिसकेको थिएन । सिरसिरे हावाले चिसोको स्पर्श दिइरहेका बेला ४५ वर्षीय खड्गबहादुर लिम्बू भने निथ्रुक्क भिजेर बारीमा व्यस्त थिए । हातमा कचिया (हँसिया) र ढाडमा डोको बोकेर उनी आफ्नो १२ रोपनीको काउली बारीमा पसेका थिए ।
तराईबाट व्यापारीको गाडी उकालो लाग्दै थियो । त्यसैले उनलाई हतारो थियो— करिब १०० केजी काउली (फूलकोपी) तयार पार्न । उनीसँगै उनकी श्रीमती रमा लिम्बू पनि त्यत्तिकै जोसका साथ काउली टिप्न साथ दिइरहेकी थिइन् ।
“यो हाम्रो पसिनाको फल हो,” बारीमा काउली टिप्दै गरेका खड्गबहादुरले भने, “मकै र कोदो मात्र फल्ने यो पाखोमा अहिले सेतो फूल (काउली) फुल्न थालेपछि हाम्रो जीवनको लय पनि फेरिएको छ ।”
खड्गबहादुरको परिवारले वर्षमा दुई बाली फूलकोपी लगाउँछन् । यस पटकको पहिलो बालीमा १२ रोपनीमा काउली लगाएका छन् । अहिले उनको बारीमा एक केजीसम्मका कोपी फलेका छन् र बोटहरू पनि सप्रिएका छन् । विगतका वर्षहरूमा किराले दुःख दिए पनि यसपालि भने बाली राम्रो भएकोमा उनी खुसी छन् । “गत वर्ष किराले हैरानी बनाएको थियो, यसपटक बाली सप्रिएको छ । ६० क्विन्टलसम्म उत्पादन हुने अनुमान छ,” उनले भने ।
अहिले डाँडाबजार घुम्न आउने आन्तरिक पर्यटकहरू पनि फर्कँदा तरकारी बोकेर जान्छन् । खड्गबहादुरले पर्यटकलाई बारीबाटै टिपेर प्रतिकेजी ५० रुपैयाँमा दिन्छन् भने व्यापारीलाई ३० देखि ३५ रुपैयाँमा बिक्री गर्छन् । यस सिजनमा ३ देखि ४ लाख रुपैयाँ आम्दानी हुने उनको विश्वास छ । खड्गबहादुरले वार्षिक ५० हजार रुपैयाँ भाडा (लिज) तिर्ने गरी अर्काको जग्गामा यो पौरख गरिरहेका हुन् ।
यो दृश्य साँगुरीगढी गाउँपालिका–५, डाँडाबजारको एउटा प्रतिनिधि चित्र मात्र हो । कुनै समय खाद्यान्न संकटको पीरलो खेप्ने यो गाउँ अहिले पूर्वी नेपालकै ‘तरकारी भण्डार’ बनेको छ । यहाँको सिंगो गाउँ नै अहिले व्यावसायिक तरकारी खेतीमा होमिएको छ ।
बन्दुक बिसाएर बारीमा
खड्गबहादुर जस्तै अर्का पौरखी पात्र हुन् तारावीर तामाङ । उनको परिचय विगतमा फरक थियो— उनी सशस्त्र प्रहरी बलका हवल्दार थिए । हातमा बन्दुक बोकेर देशको सुरक्षामा खटिएका तारावीरले २०६३ सालको विस्तृत शान्ति सम्झौतापछि एउटा साहसिक निर्णय लिए— जागिर छोडेर माटोमा पसिना बगाउने ।
२०६४ सालदेखि व्यावसायिक कृषिमा होमिएका तारावीर अहिले डाँडाबजारका अगुवा कृषक हुन् । आफ्नो ७ रोपनी र दाजुभाइको गरी कुल २० रोपनी जग्गामा उनले तरकारी फलाइरहेका छन् । “तराईमा मानिसहरूले धान खेती गरे जस्तै हामी यहाँ काउली खेती गर्छौँ,” उनले भने, “जागिरको भन्दा माटोको कमाइमा छुट्टै सन्तुष्टि छ ।”
उनले १५ रोपनीमा काउली र ५ रोपनीमा मूला, मकै र भट्टमास लगाएका छन् । वर्षमा दुई सिजन तरकारी बेच्दा उनले साढे ४ लाख रुपैयाँसम्म हात पार्छन् । तर, तारावीरको एउटा गुनासो छ— माटोको घट्दो स्वास्थ्य र सरकारी उदासीनता । “बिरुवाको फेदमा गिर्खा पर्ने रोगले सताउन थालेको छ,” उनले भने, “तर न त पालिकाले न त प्रदेशका प्राविधिकले नै हामीलाई यसको उपचारबारे सिकाएका छन् ।”
तरकारीले बनाएको इन्जिनियर
डाँडाबजारकै अर्की सफल कृषक हुन् सीता घिमिरे । १२ रोपनी जग्गामा तरकारी खेती गर्ने सीताले यही माटोको आम्दानीले छोरालाई इन्जिनियर बनाउन सफल भइन् । उनका छोरा डेनिस घिमिरे अहिले भारतको बैंगलोरमा सफ्टवेयर इन्जिनियर छन् भने छोरी दीक्षा धरानमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत छिन् ।
“पहिले मकै र आलु मात्र लगाउँदा वर्षभरि खान पुग्दैनथ्यो, बारी अरूलाई २–३ हजारमा ठेक्का दिन्थ्यौँ,” सीताले पुराना दिन सम्झिइन्, “जब आफैँले व्यावसायिक खेती सुरु ग¥यौँ, तब आम्दानीको ढोका खुल्यो ।” सीताको परिवारले तरकारीका साथै गाई–भैँसी पालन र होमस्टे पनि चलाएको छ । उनको पौरखमा श्रीमान् अरुण घिमिरेले पूर्ण साथ दिएका छन् । उनले बारीभरीमा काउली (कोपी), मूला, धनियाँ र मकै लगाएकी छिन् । काउली खेती कुल १२ रोपनीमध्ये ८–९ रोपनीमा काउली मात्र लगाइएको उनले बताइन् ।
‘‘एक सिजनमा सबै खर्च कटाएर १ लाख ५० हजार देखि २ लाख लाखसम्म आम्दानी हुने गरेको छ,’’ उनले भनिन् । वार्षिक दुई सिजन गरी करिब ३ लाख सम्मको कारोबार हुने उनको भनाइ छ । ‘‘अबको १५ देखि २० दिनमा काउली टिप्ने बेला हुन्छ । अहिले फुल लागेको छ,’ उनले भनिन्, ‘१५ देखि २० दिनमा जहान लगाएर टिपेर विक्री गर्ने तयारी गरिएको छ । वर्षमा दुई बाली (सिजन) उत्पादन हुन्छ। जेठदेखि कार्तिकसम्म मुख्य सिजन रहन्छ ।’’
बिचौलिया र मूल्यको उतारचढाव
सम्भावना हुँदाहुँदै पनि किसानहरू मूल्यको अस्थिरता र बिचौलियाको दबदबाबाट त्रसित छन् । “हामीले ३०–३५ रुपैयाँमा बेचेको काउली उपभोक्ताको भान्सामा पुग्दा ८०–१०० पुग्छ,” सीता घिमिरे भन्छिन् । कहिलेकाहीँ भाउ घटेर २० रुपैयाँमा झर्दा लागत उठाउनै मुस्किल पर्छ ।
तराईमा अत्यधिक तापक्रम बढेपछि गर्मी छल्न डाँडाबजार पुगेका विराटनगरका विवेक गौतमसहितको टोली फर्कँदा ५० केजी तरकारी बोकेर फर्किए । उनीहरूले खड्गबहादुरको बारीबाट मात्रै २८ केजी कोपी खरिद गरे । “पहाडको अर्गानिक र ताजा हुने भएकाले घुम्न गएको बेला तरकारी पनि लिएर आयौँ,” विवेकले भने ।
डाँडाबजारको माटो अहिले समृद्धिको सुगन्धले भरिएको छ । तर, यहाँका पौरखी हातहरूलाई राज्यको भरपर्दो प्राविधिक सहयोग र बजार मूल्यको ग्यारेन्टी चाहिएको छ । “यदि सरकारले मूल्य निर्धारण र रोग नियन्त्रणमा प्रभावकारी भूमिका खेलिदिने हो भने डाँडाबजार नमुना कृषि ग्राम बन्नेछ,” कृषक सीता घिमिरेले भिनन् ।
स्थानीय सरकारको योजना
साँगुरीगढी–५ का वडाअध्यक्ष खड्गबहादुर लिम्बूका अनुसार वडाभित्रका ५२८ घरधुरीमध्ये ४०० भन्दा बढी परिवार व्यावसायिक खेतीमा आबद्ध छन् । वडाले यो वर्ष बीउ बिजनका लागि ४ लाख रुपैयाँ विनियोजन गरेको छ । ‘‘हामीले विनियोजन गरेको बजेटबाट यस वर्ष यहाँका कृषकहरूलाई आवश्यक पर्ने बिउ बिजन खरिद गरेर बितरण गरिएको छ,’’ उनले भने ।
साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले साँगुरीगढीलाई ‘कृषि हब’ बनाउन ‘एक वडा, एक प्राविधिक’ को नीति अघि सारेका छन् ।
डाँडाबजार लगायतका क्षेत्रमा व्यावसायिक तरकारी खेती फस्टाए पनि उत्पादित वस्तुको उचित मूल्य नपाउने र बजारमा बिचौलियाहरूको प्रभाव रहने समस्याप्रति अध्यक्ष राईले चिन्ता व्यक्त गरे । “बजार मूल्य निर्धारण गर्न नसक्नु अहिलेको मुख्य समस्या हो, जुन हाम्रो पालिकाको मात्र नभई देशकै समस्याको रूपमा रहेको छ,’’ उनले भने, “धेरै उत्पादन हुँदा मूल्य घट्ने र थोरै हुँदा बढ्ने प्रवृत्तिको मारमा किसानहरू परिरहेका छन् ।’
बजारमा मूल्यको उतारचढावबाट किसानलाई जोगाउन गाउँपालिकाले बेमौसमी तरकारी खेतीलाई प्राथमिकतामा राखेको छ । बेमौसमी उत्पादनले बजारमा राम्रो भाउ पाउने भएकोले किसानहरूलाई यसतर्फ आकर्षित गर्न विभिन्न योजनाहरू ल्याइएको उहाँको भनाइ छ । “हामी किसानलाई मिनी–टिलर, मल्चिङ प्रविधि र आधुनिक औजारमा अनुदान दिइरहेका छौँ,” अध्यक्ष राईले भने ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।