विराटनगर । कोशी प्रदेशसहित देशका पूर्वी र मध्य भागमा मनसुनी वायुको प्रभाव थप बलियो बनेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशका सम्पूर्ण क्षेत्रमा मनसुनी वायुको पूर्ण प्रभाव रहेको छ, जसका कारण यस प्रदेशका धेरैजसो स्थानमा मौसम बदली र वर्षाको सम्भावना देखिएको छ।
विराटनगरसहित कोशीका तराई क्षेत्र र पहाडी भू-भागमा अहिले सामान्य बदली रहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने तराईका जिल्लाहरूमा पनि मौसम पूर्ण रूपमा सफा हुने छैन। कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशीका उच्च हिमाली क्षेत्रमा हिमपातको समेत पूर्वानुमान गरिएको छ।
कोशीसँगै मधेस, बागमती र गण्डकी प्रदेशका केही भागमा पनि मनसुनी वायुको प्रभावले वर्षा हुने देखिएको छ। यद्यपि, देशको पश्चिमी भेगमा भने फरक मौसमी प्रणाली देखिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा मुख्यतया मौसम सफा रहने र ती क्षेत्रमा तातो हावा (लु) चल्ने सम्भावना रहेकाले त्यहाँका सर्वसाधारणलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
आज राति पनि कोशी प्रदेशमा मनसुन सक्रिय रहनेछ। कोशीको तराई र मधेस प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा राति पनि मौसम सामान्यतया बदली भई वर्षा र हिमपात हुनसक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ।
मौसमविद्हरूले कोशी प्रदेशमा वर्षाका कारण हुनसक्ने जोखिम र पश्चिम नेपालमा बढ्दो तापक्रम एवं तातो हावाबाट बच्न आवश्यक पूर्वतयारी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्। मौसम सम्बन्धी पछिल्लो जानकारीका लागि महाशाखाको सूचनामा अद्यावधिक रहन समेत विराटनगरस्थित मौसम कार्यालयले आग्रह गरेको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।