विराटनगर । लामो समयदेखि लकडाउन हुँदा दैनिक गुजारा गर्न नसक्ने अवस्थामा पुगेका विपन्न तथा मजदुरहरुलाई वितरण गर्न भन्दै बिहीबार विराटनगर महानगरपालिका वडा नम्बर ४ लाई ५० बोरा चामल प्रदान गरिएको छ ।
नेकपाका प्रदेश कमिटी सदस्य तथा गत संसदीय निर्वाचन मोरङ क्षेत्र नम्बर ६ का प्रदेशसभा सदस्यका उमेद्वार जीवन आचार्यले सो राहत वडा कार्यालयलाई उपलव्ध गराउनुभएको हो । उहाँले २५ किलो तौलको ५० प्याकेट चामल वडा कार्यालयमा उपलव्ध गराउनुभएको हो ।
नेकपा मोरङका नेता तथा प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरी, राष्ट्रिय युवा संघ मोरङका इन्चार्ज इश्वरी आचार्य, विराटनगर महानगर कमिटी सदस्य जिसस न्यौपाने, नेकपा विराटनगर ४ का अध्यक्ष जितन थापा लगायतले सो राहत वडाध्यक्ष देवेन्द्र पोखरेललाई हस्तान्तरण गनुृभयो ।
लकडाउनका कारण ठूलो संख्यामा रहेका श्रमिकहरु समस्यामा परेका कारण थोरै भएपनि राहत उपलव्ध गराएको सन्देश आचार्यले पठाउनुभएको थियो ।
राहत सामग्री बुझ्दै वडाध्यक्ष देवेन्द्र पोखरेलले सहयोगी र दाताहरुले दिने सामग्रीबाट विपन्नहरुको जीवन बचाउन सहयोग पुगेको भन्दै धन्यवाद ज्ञापन नर्गुभएको थियो । उहाँले चुल्हो बल्नै छोडेका विपन्न र गरीबहरुलाई प्राथमिकतामा राखेर खाद्यान्न सहयोग उपलव्ध गराउने र त्यसको सदुपयोग गर्ने विश्वास पनि दिलाउनुभएको थियो ।