ओली–प्रचण्ड भेट सकियो, के भयो सहमति ?

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीचको भेटघाट सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो भएको करिब २ घण्टा लामो भेटघाट र छलफल भएको थियो ।

भेटमा पार्टीको सचिवालय बैठक र स्थायी समिति बैठक बोलाउनेबारे छलफल हुने भनिएको थियो। तर, दुई अध्यक्षबीच यस विषयमा के कुराकानी भयो भन्ने खुलेको छैन। यसअघि आज सचिबालय बैठक राख्ने सहमति ओली पक्ष र नेता माधबकुमार नेपाल पक्षबीच भएकोमा अहिलेसम्म बैठक बोलाइएको छैन ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका ओलीले आफूलाई सहयोग गर्न पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए । तर, प्रचण्डले सचिवालय र स्थायी समिति बैठकबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका स्रोतको दावी छ ।

सबै पक्षलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्नेमा प्रधानमन्त्रीले आफ्नो खुसीअनुसार सीमित घेराबाट सरकार सञ्चालन गरेकाले निम्तिएको समस्या भन्दै प्रचण्डले निकास दिने विषयमा पनि नेतृत्व लिन ओलीलाई नै आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले अब विगतमा भएका सहमतिको कार्यान्वयन गर्ने र एकता महाधिवेशनसम्म मिलेर जान प्रचण्डलाई आग्रह गरेका छन् । प्रचण्डले भने विगतमा आफूले प्रधानमन्त्री पद पनि छाडेको, पटक–पटक सहमति गरेर पालना नभएको बतएका थिए ।

आन्तरिक छलफल गरेर भोलिसम्म सचिवालय बैठक बस्नेगरी दुई अध्यक्षबीच छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । हिजो प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरुको बैठकमा ओली निकट नेताहरुले आज सचिवालय बैठक बस्ने जानकारी गराएका थिए ।

नेकपामा पछिल्लो अध्यादेश प्रकरणपछि प्रधानमन्त्री केपी ओली संकटमा छन् । पार्टीका सबै निकायमा अल्पमतमा परेपछि ओलीमाथि राजिनामा दिन र बैठक बोलाउन दबाब परिरहेको छ । आफू अल्पमतमा परेको कारण प्रधानमन्त्रीले भने बैठक टार्न खोजिरहेका छन् ।

यसअघि नेकपाका २० स्थायी कमिटी सदस्यले तत्काल बैठक बोलाउन माग गर्दै यस अघि नै अध्यक्षद्वयलाई लिखित पत्र बुझाएका थिए ।

मङ्गलबार, १६ बैशाख, २०७७, दिउँसोको ०४:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर