विराटनगर । कोरोना भाइरस संक्रमण विश्वस्तरमा फैलदै जाने क्रममा छिमेकी भारत विश्वको १५ औं भाइरस प्रभावित मुलक बनेको छ । पछिल्ला दिनहरुमा भारतमा भाइरस संक्रमणको दर बढ्दै गएको छ । भारतमा अहिलेसम्म २९ हजार भन्दा बढीमा भाइरस संक्रमण भइसकेको छ भने ९३९ जनाको मृत्यु भएको छ ।
भाइरस संक्रमणको संख्या सबैभन्दा बढी अमेरिकामा छ । अमेरिकामा १० लाख १० हजार भन्दा बढीमा संक्रमण फैलिएको छ । त्यसपछि प्रभावित मुलुक स्पेन हो । स्पेनमा २ लाख २९ हजार जनामा संक्रमण फैलिएको छ । तेस्रो प्रभावित मुलुक इटली हो । इटलीमा १ लाख ९९ हजार जना संक्रमित भइसकेका छन् । फ्रान्स चौथो प्रभावित मुलुक हो । त्यहाँ १ लाख ६५ हजार व्यक्तिमा संक्रमण भएको छ । त्यसपछि जर्मनी छ जहाँ १ लाख ५८ हजारमा भाइरसको संक्रमण भएको छ ।
भाइरस प्रभावित हुनेमा बेलायत, टर्की, इरान, रसिया र चीन क्रमस छैठौं, सातौं, आठौं, नवौं र दशौं मुलुक हुन् । ब्राजिल एघारौं, क्यानडा बाह्रौं, बेल्जियम तेह्रौं, नेदरल्याण्ड चौधौं र भारत पन्ध्रौं प्रभावित मुलुक हो ।
सोमबार मात्र भारतमा कोरोना भाइरसका कारण ५८ जनाले ज्यान गुमाएका छन् भने १५ सय ६१ जना नयाँ संक्रमित पहिचान भएका छन् । योसँगै भारतमा २९ हजार ४५१ जना संक्रमणमा परेका छन् । ति मध्ये ७ हजार १३७ जना निको भएर फर्किएका छन् ।
विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित हुने र मानिसहरुको मृत्यु हुने मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ । अहिलेसम्म अमेरिकामा १० लाख १० हजार ३५६ जनामा संक्रमण देखिएको छ भने ५६ हजार ७९७ जनाको मृत्यु भएको छ ।
विश्वमा कोरोना संक्रमितको संख्या ३० लाख ६३ हजार पुगेको छ । ति मध्ये २ लाख ११ हजार ४४७ जनाको मृत्यु भएको छ भने ९ लाख २१ हजार जना उपचारपछि निको भएका छन् ।