एजेन्सी । उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनको स्वास्थ्यको बारेमा विश्वभर विभिन्न चर्चा भइहरेको बेला दक्षिण कोरियाले उनी जिवित र सकुशल रहेको जनाएको छ ।
नेता किमबारे निरन्तर अफवाह फैलिरहेको सन्दर्भमा दक्षिण कोरियाले उनको अवस्थाबारे आधिकारिक जानकारी सार्वजनिक गरेको हो।
सीएनएनका अनुसार नेता किम १३ अप्रिलयता वोन्सान इलाकामा बसिरहेको र कुनै शंकास्पद गतिविधि नदेखिएको दक्षिण कोरियाली राष्ट्रपति मुन जाएइनका विदेश नीति सल्लाहकार मुन चुङइनले जानकारी दिनुभयो । हजुरबुवा किम इलसुङको जन्मजयन्तीमा अनुपस्थित भएपछि उत्तर कोरियाली नेताको स्वास्थ्य अवस्थाबारे अनेक अनुमान सार्वजनिक हुँदै आएका थिए।
यसअघि अमेरिकाले मुटुको शल्यक्रियापछि नेता किम गम्भीर स्वास्थ्य समस्यामा रहेकोबारे अमेरिकाले जासुसी संयन्त्रमार्फत निगरानी गरिरहेको जानकारी सार्वजनिक भएको थियो। किम जोङ उन बिरामी परेको कतिवयले भनेका छन् भने केहीले मुटुसम्बन्धी समस्याका कारण उनको मृत्यु भइसकेको हल्ला पनि चलाएका छन्।
आणविक शक्ति राष्ट्रको बागडोर ९ वर्षअघि सम्हालेका ३६ वर्ष हाराहारीका किमलाई के भएको हो भन्नेबारे अहिलेसम्म उत्तर कोरियाले औपचारिक रूपमा सार्वजनिक गरेको छैन। अप्रिल १५ मा मनाइने उनका दिवंगत हजुरबुवा किम जोङ सङको जन्मजयन्ति कार्यक्रममा किम जोङ उन अनुपस्थित भएपछि उनी कहाँ छन् भन्ने चर्चा सुरू भएको हो।
गत साता अमेरिकी टेलिभिजन सिएनएनले किम जोङ उन गम्भीर बिरामी भएको र उनको शल्यक्रिया गरिएको समाचार प्रसारण गरेको थियो। जापानका केही सञ्चारमाध्यमले किमको मुटुमा स्टेन्ट राख्न खोज्दा उनको ब्रेन डेड भएको खबर छापेका छन्।