उदयपुर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा देखिएको कोरोना भाइरसको संक्रमण काबुभित्र रहेको बताउनुभएको छ ।
देशकै सबैभन्दा बढि कोराना प्रभावित क्षेत्र उदयपुरको भुल्केको अनुगमनका लागि शनिबार आउनुभएका मुख्यमन्त्री राईले कोरोना भाइरसलाई परास्त गरिने बताउनुभयो ।
कोरोना नियन्त्रण, रोकथाम र उपचारमा उच्च मनोवलका साथ काम गर्न सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्दै मुख्यमन्त्री राईले आवश्यक बजेट र साधनस्रोत उपलब्ध गराईने बताउनुभयो । उदयपुरमा आइसोलेशनसहितको कोरोना उपचार केन्द्र निर्माण गर्ने जानकारी दिँदै उहाँले त्यसको लागि उपयुक्त ठाउँको खोजी भइरहेको बताउनुभो ।
कोरोना विरुद्धको तयारी राम्रो भएकोले प्रदेश सरकार विचलित नभएको उल्लेख गर्दै मुख्यमन्त्री राईले संक्रमितको उपचारसँगै फराकिलो ढंगले नागरिकको स्वास्थ्य परिक्षण गरिने जानकारी दिनुभयो । संक्रमणको सुरुवात पहिचान गरी सम्भावित जोखिम क्षेत्रलाई अझ कडाइ गर्ने र नियन्त्रण गर्ने उहाँको भनाइ छ ।
कोरोना नियन्त्रणको लागि लकडाउनको पूर्ण रुपमा पालना गर्न पनि उहाँले आह्वान गर्नुभएको छ । उहाँले प्रदेशमा कसैलाई भोकले मर्न नदिने दावी गर्दै स्थानीय सरकारको खाद्यन्नले नधाने प्रदेश सरकारले राहत उपलब्ध गराउने बताउनुभयो ।
मुख्यमन्त्रीसँगै आउनुभएका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले उदयपुर सम्बेदनशील क्षेत्र बनेकोले सुरक्षा व्यवस्था थप कडा गरेर काम भइरहेको बताउनुभयो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना परीक्षण र उपचारको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा जनशक्ति कमी हुन नदिइने बताउनुभयो । सङ्क्रमित मुस्लिम धर्मगुरुहरूबाट कोरोना सङ्क्रमण नफैलिएको बताउँदै उहाँले विदेशबाट आएका स्थानीयबाट कोरोना सङ्क्रमण भएको जानकारी दिनुभयो ।
प्रदेशसभाका सदस्य एवं सांसद विमल कार्कीले उदयपुरको बेल्टारस्थित सशस्त्र बेस क्याम्पमा कोरोना उपचार केन्द्र बनाउन प्रदेश सरकारसँग माग गर्नुभयो । वस्ती भन्दा टाढा र एकान्तमा पनि भएकोले त्यहाँ अस्पताल बनाउन उपयुक्त हुने उहाँको सुझाब थियो ।
त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले भुल्केलाई पायक पर्ने ठाउँमा तत्काल कोरोना अस्पताल बन्नुपर्ने माग गर्नुभयो । उहाँले मुलुकभरको ६० प्रतिशत कोरोना भुल्केमै देखियो त्यसैले भुल्केलाई केन्द्रत गरेर सरकारले योजना बनाउन माग गर्नुभयो।
मख्यमन्त्री तथा मन्त्रीहरुलाई त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले भुल्के र समग्र जिल्लाको बस्तुस्थितिको बारेमा जानकारी गराउनुभएको थियो । गृहजिल्ला भोजपुरमा कोरोना अवस्थाको अवलोकन तथा अध्ययनपछि हेलिकप्टरमा भुल्के आइपुगेको मुख्यमन्त्रीको टोली उदयपुरको कटारी १ बेलसोत स्थित बेलसोत प्रदेश क्वारेन्टाइनको अवलोकनकपछि फर्किएको छ । टोलीले भोजपुरको हतुवागढी ६ होम्ताङका एक युवामा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य सामाग्रीसमेत सो क्षेत्रमा लगेको छ ।

