काठामाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मूल्यांकनमा नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ ।

डब्ल्यूएचओले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणको काम प्रभाबकारी भएको निश्कर्षसहित नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।

छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसंँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.मिरकुमार अधिकारीका अनुसार प्रभाबकारी लकडाउन र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम भएकोले अति उच्च जोखिमबाट उच्च जोखिममा झारिएको हो ।

नेपालले समयमै गरेको लकडाउन गरेर बाहिरबाट संक्रमित आउने सम्भावना नदेखिएकोले अति उच्च जोखिम नरहेको डब्लुएचओको निश्कर्ष छ । नेपालमा कोभिड १९ संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ । कोभिड –१९ को परीक्षणको दायरासमेत बढाइएकाले अतिउच्च जोखिमबाट तल झरेको सरकारले जनाएको छ ।

सरकारले मुलुकभरि कोभिड अस्पतालका रुपमा २५ वटालाई हब हस्पिटल बनाएको छ । ती अस्पतालमा कोभिड– १९ का बिरामीको मात्र उपचारको व्यवस्था गरिएको छ ।

अहिले १५ स्थानमा पीसीआर र ७५ जिल्लामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) दुवै विधिबाट परीक्षण गरिएको छ । अहिले प्रत्येक २५० जनामा १ जनामा परीक्षण गरिएको छ । हालसम्म नेपालमा पीसीआरबाट ९ हजार ४०९ र आरडीटीबाट ३८ हजार ८९ गरी ४७ हजार ४९७ जनामा परीक्षण गरिएको छ । तीमध्ये ४९ जनामा संक्रमण देखिएकामा १० जना उपचारपछि घर फर्किसकेका छन् ।

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि विदेशबाट आएका मानिसलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिएको छ । त्यसमा प्रदेश र स्थानीय तहको प्रभाबकारी भूमिका छ । अहिले १२ हजार ९८५ जना क्वारेन्टाइन र ८९ जना आइसोलेशनमा छन् ।

सरकारले मोबाइल एप र कल सेन्टरबाट पनि शंकास्पद बिरामीलाई पछ्याइरहेको छ । अहिले एपबाट २४ हजार ९२६ जनाले स्वाब परीक्षण गराइसकेका छन् ।

विश्वमा अहिले १८ लाख २८ हजार २५६ जना कोभिड –१९ बाट संक्रमित भइसकेका छन् । अहिलेसम्म १ लाख ९७ हजार ३५४ बिरामीले कोभिड –१९ को कारणले ज्यान गुमाइसकेका छन् ।