लोड हुँदैछ...

मेनु

इलामको सीमा नाकाका १८ सुरक्षा पोष्ट

इलामको सीमा नाकाका १८ सुरक्षा पोष्ट

इलाम । लकडाउनको समयमा इलामको नेपाल–भारत सीमा क्षेत्रमा लुकिछिपी मानिसको आवतजावत भएपछि सुरक्षा पोष्ट थपिएको छ।

सरकारले सीमामा कडाई गर्ने नीति लिएपछि इलामको सीमा क्षेत्रका १८ स्थानमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट राखिएको छ।

लकडाउन सुरु भएसँगै ७ स्थानमा सशस्त्र प्रहरीको टोली राखिएको थियो । पछि ११ वटा पोष्ट थपिएको हो। सीमा क्षेत्रमा सुरक्षा पोष्ट राखिएपछि सीमा क्षेत्रका नागरिकले सुरक्षाको अनुभूति गरेका छन्। नेपाल–भारत सिमानाको साढे ५२ किलो मिटर क्षेत्रका १८ स्थानमा सशस्त्र प्रहरीको टोली खटाइएको छ।

पहाडी क्षेत्रमा गौडाहरु धेरै भएकाले र भौगोलिक विकटताका कारण थप ११ स्थानमा सुरक्षा पोष्ट थपिएको सशस्त्र प्रहरी बल १ नम्बर गण हेडक्वाटर इलामका प्रहरी उपरीक्षक रोशन श्रेष्ठले बताउनुभयो। खुला सीमा भएर आएका मानिस क्वारेन्टाइनमा नजाने र कोरोनाको जोखिम बढ्ने भएकाले साढे दुई किलोमिटरको फरकमा सुरक्षाकर्मीको पोष्ट राखिएको हो ।

झापाको सीमा जोडिएको इलामको रोङ गाउँपालिकाको पाटापुरदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुरसम्म सशस्त्र प्रहरीको सुरक्षा पोष्ट राखिएको छ । सीमा क्षेत्रमा सुरक्षाकर्मी थपिएपछि लुकिछिपी आवातजावत रोकिएको छ।

इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले खुला सीमा भएर आएका मानिस क्वारेन्टाइनमा नजाने र कोरोनाको जोखिम बढ्ने भएकाले सुरक्षाकर्मीको पोष्ट थप गरिएको बताउनुभयो। सीमा क्षेत्रमा सुरक्षाकर्मी थप गरिएपछि लुकिछिपी आवातजावत गर्नेको संख्या समेत घटेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।