दमक । झापाको दमक ३ का ६२ वर्षीय पुरुषलाई विदेशबाट आएका छोराबाट कोरोना सरेको अनुमान नगरपालिकाले गरेको भएपनि केहि दिन अगाडि उनको घरमा मरिमराउ हुँदा धेरै पाहुना आएको खुलेको छ ।
शुक्रबार गरिएको आरडिटीमा विदेशबाट आउका युवासहित उनका बाबुआमामा एण्टीबडी देखिएपछि स्वाब परीक्षण गर्दा बाबुमा कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमितका छोरा गत महिना दुबईबाट आएको खुलेको छ । युवाकी श्रीमतिको भने श्रीमतीको र्यापिड र पिसिआर दुवैमा नेगेटिभ देखिएको थियो ।
यद्यपी छोराबाटै कोरोना सरेको यकिन भने भइसकेको छैन । वृद्धको घरमा बुधबार मात्र मरिमराउको काम सकिएको थियो । संक्रमण पुष्टि भएका वृद्धको सासुआमाको १२ दिनअघि निधन भएको थियो । आमाको निधन भएपछि संक्रमित वृद्धकी श्रीमती र दिदीसासु दमकस्थित उनको घरमा किरियामा बसेका थिए ।
काममा बस्ने क्रममा उनको घरमा हाँसपोसाबाट दिदीसासुसहित २, दमक नगरपालिका ६, ७ र ९ नम्बर वडाबाट ४÷४ जनासहित करीब ३५ जना आफन्त आएका थिए । उनीहरुमध्येबाट कोरोना सरेको हो या छोराबाट भन्ने यकिन हुन बाँकी छ ।
संक्रमितका छोरा फागुन ३० गतेको नेपाल एयरलाइन्समार्फत छोरा काठमाडौं झरेका थिए । तीन दिन काठमाडौंमै बसेका छोरा चैत ४ गते बसमार्फत दमक घर आइपुगेका थिए ।
वृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि दमकको उत्तरी क्षेत्र सिल गरिएको छ । दमक नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रहरीलगायतको शुक्रबार राति बसेको आकस्मिक बैठकले उत्तरी क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।
वडाका स्थानीयवासीमा कोरोना संक्रमण परीक्षणलाई तीव्र पार्नुका लागि निश्चित क्षेत्र तोकेर सिल गरेको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिनुभयो । नगरपालिकाको उत्तरमा मावा पुलदेखि बेलडाँगी १ सम्म, दक्षिणमा कृष्ण मन्दिर राजमार्गसम्म, पूर्वमा हिमालय माविदेखि बेलडाँगी १ सम्म र पश्चिममा मावा खोलासम्मको क्षेत्रमा आवतजावतलगायत सम्पूर्ण गतिविधि पूर्णरुपमा निषेध गरिएको छ ।
दमकमा एक सय जनाको आरडीटी परीक्षण गर्दासम्म कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको थिएन । १०१ नम्बरमा परीक्षण गर्ने क्रममा कोरोना संक्रमण पुष्टि भएका वृद्धका छोरामा एन्टिबडी पोजेटिभ देखिएको थियो । संक्रमण पुष्टि भएका वृद्धलाई उपचारका लागि विराटनगरस्थित कोशी कोभिड अस्पताल पठाएको उपमेयर अधिकारीले जानकारी दिनुभयो ।
नगरपालिका र स्थानीय प्रशासनले दमकको उत्तरी क्षेत्रमा रहेको भुटानी शरणार्थी शिविरलाई पनि सिल गरेको छ । भुटानी शिविरमा आवतजावत पूर्णरुपमा निषेध गरिएको छ । शिविरमा करीब ५ हजार भुटानी शरणार्थी बसोबास गर्दै आएका छन् ।
नगरपालिकाभित्र ४१ जना क्वारेन्टाइनमा छन् । वडा नं. ४ स्थित मानसरोवर कलेजको क्वारेन्टाइनमा २१, दाहाल प्रतिष्ठानमा ६ र जामे मस्जिदको क्वारेन्टाइनमा १४ जना छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ ।