भोजपुर । कोरोना भाइरस संक्रमित भोजपुरको हतुवागढी ६ होम्ताङका युवालाई उपचारको लागि विराटनगर लगिएको छ ।
बिहीबार संक्रमण पुष्टि भउपछि घोडेटारस्थित स्वास्थ्य केन्द्रको आइसोलेसन वार्डमा राखिएका उनलाई शुक्रबार विराटनगर पठाइएको हो ।
संक्रमितलाई विराटनगरस्थित कोरोना अस्पताल पठाइएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख प्रमुख फणिन्द्र कार्कीले जानकारी दिनुभयो । गएको फागुन ३० फागुनमा साउदी अरबबाट फर्किएका उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
घरमै बसेर घुमफिर गरिरहेका युवालाई कोरोना संक्रमण देखिएपछि गाउँपालिकालाई नै सिल गरिएको छ। प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीका अनुसार हतुवागढीमा कसैलाई प्रवेश गर्न र बाहिर निस्कन नदिनेगरी नाकाहरु सिल गरिएको हो ।
जिल्लाका अन्य नाकाहरूमा पनि आवतजावतलाई कडाइ गरेर हतुवागढी ६ मा पनि विशेष कडाइ गरेको प्रशासनले जनाएको छ । संक्रमित युवक गाउँमा धेरै घुलमिल गरेकाले पनि जोखिम बढेको गाउँपालिकाका प्रमुख प्रेमकुमार राईले बताउनुभयो।
संक्रमित युवक गाउँ पुगेर भलिबल खेलेको, साथीभाइसँग घुलमिल गरेको, मलामी र पास्नीमा सहभागी भएको खुलेको । गाउँपालिकाले संक्रमित युवकसँग सिधा सम्पर्कमा आएका व्यक्तिहरूको विवरण लिने काम गरिरहेको जनाएको छ। स्वास्थ्यकर्मीको टोली संक्रमित युवकको गाउँतिर प्रस्थान गरिसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
शंकास्पदहरुको स्वाब संकलन गर्ने भाडो भिटिएम १४ वटा मात्र भएकोले शुक्रबार त्यति नै जनाको स्वाब कलेक्सन हुनेछ । शनिबार थप सामग्री आएपछि अरूको पनि परीक्षण गर्ने स्वास्थ्य कार्यालय प्रमुख कार्कीले बताउनुभयो ।