भोजपुरका संक्रमितको यात्रा विवरणले त्रास

धरान । भोजपुरको हतुवागढीका कोरोना संक्रमित युवाको यात्रा विवरणका कारण सुनसरी, उदयपुर र भोजपुरमा त्रास छाएको छ ।

बिहीबार कोरोना संक्रमित पुष्टि भएका गत फागुन ३० गते साउदीबाट नेपाल आएका हतुवागढी ६ होम्ताङ्गका २६ वर्षीय युवा सुनसरी र उदयपुर हुँदै धेरैतिर यात्रा गरेको पाइएको छ ।

हिमालयन एयरलाइन्सको फ्ल्याइटबाट काठमाडौं ओर्लिएका उनी रात्रि बसमा सुनसरीको झुम्का ओर्लिएर डेरा गरि बस्ने श्रीमति भेट्न चतरामा पुगेको खुलेको छ। चतराबाट बसमा चढेर परिवारसहित मावालीघर धरान आएका उनले धरान बजारमा किनमेल गरी साथीहरुसँँग घुम्न इटहरी पनि गएको आफन्तले बताएका छन् ।

सुनसरीमा आएर एक साता बसेपछि उनी ससुराली उदयपुरको मैनामैनि चैत ९ गते गएको पाइएको छ। ससुरालीमा २ दिन बसेर उनी ११ गते स्थानीयको मोटरसाइकलमा भोजपुर र उदयपुरको सीमाना दुधकोशिको चुहार पुगेका थिए । त्यहाँबाट अर्कै व्यक्तिको सहयोगमा हतुवागढी गाउँपालिका ९ हसनपुरको बार्ताङ्गसम्म आएकाका उनी अर्को बाइकमा घर होम्ताङ्ग पुगेको पाइएको छ।

घर पुगेपछि पनि ती युवा क्वारेन्टाइनमा नबसी घुमफिर गरेको खुलेपछि अहिले स्थानीय त्रसित छन् । कुनै लक्षण नदेखिएको कारकण उनी गाउँमा भलिबल खेल्ने र सिकार खेल्ने जस्ता काममा सक्रिय भएकोले उनको सम्पर्कमा धेरै भएको हुनसक्ने स्थानीयले बताएका छन् ।

संक्रमित युवा सबैतिर पाइएपछि सुनसरीदेखि उदयपुर र भोजपुरसम्म त्रास छ । हतुवागढीमा उनको गाउँलाई नै सिल गरेर कोरोना परीक्षण गर्न स्थानीयवासिले माग गरेका छन। हतुवागढी गाउँपालिकाले भने गाउँपालिका बासिलाई संयम र सतर्क रहन अनुरोध गरेको छ। गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले उनको उपचार र सम्पर्क भएकाहरुको यथासिघ्र स्वास्थ्य परीक्षण गरिने बताउनुभएको छ ।

अहिले संक्रमित युवकलाई हतुवागढी १ को घोरेटारस्थित आइसोलेसनमा राखिएको छ।

शुक्रबार, १२ बैशाख, २०७७, बिहानको ०९:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर