जनता समाजवादी पार्टी दर्ता, समाजवादी विभाजनको प्रयास असफल

विराटनगर । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भई बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ को निवेदन दर्ता भएको हो । दर्ता नम्बर १३८८ छ ।

बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकताको सहमति भउको थियो ।
एकतामा सहभागी दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक जानकारी दिएका हुन् ।

पार्टी एकीकरणको सहमती पत्रसहित निर्वाचन आयोगलाई दिइएको पत्रमा राजपाका संयोजक शरदसिंह भण्डारी र समाजवादीका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर छ । जनता पार्टीका नेता राजेन्द्र महतोले आफूहरुले पार्टी एकताको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी प्रक्रिया पछि पूरा गर्ने बताउनुभयो । अर्का नेता राजेन्द्र श्रेष्ठले लकडाउनका बेला अध्यादेश ल्याएर राजनीतिमा नेकपाका नेता केपी ओलीले अपराधीकरण र भ्रष्टिकरण निम्त्याएको बताउनुभयो ।

राजनीतिक दल विभाजनका लागि बाटो खोल्ने गरी सरकारले अध्यादेश जारी गरेलगत्तै समाजवादीका असन्तुष्ट नेताहरू पार्टी छोड्ने तयारीमा थिए। बिहीबार बिहानसम्म पार्टीबाट नेताहरू अलग्गिने सूचना पाएपछि समाजवादी र राजपाले बुधबार राति करिब ११ बजे एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

जनता समाजवादी पार्टीको झन्डा यसअघि समाजवादीले प्रयोग गरेको हुनेछ भने चुनाव चिह्न राजपाले प्रयोग गर्दै आएको ‘छाता’ हुनेछ। नेताहरुको कार्यविभाजन भने भइसकेको छैन।

दल दर्ताको निवेदन दर्ता भएको भएपनि नयाँ दलले कानुनी मान्यता पाउन बढीमा ४५ दिन कुर्नुपर्छ। दल दर्ताका लागि बुझाइएको आवश्यक कागजात रुजु गर्ने, नाम जुधेको वा नजुधेको हेरेर निर्वाचन आयोगले निर्णय गर्ने निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अधिकारीले जानकारी दिनुभयो।

समाजवादी फुटाउने प्रयास विफल
समाजवादी पार्टीका उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्व पार्टी फुटायने तयारी भएको सूचनापछि नेताहरुले रातारात एकताको घोषणा गरेका थिए । यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङले पार्टी फुटाउन लागेको चर्चा चलेको थियो ।

प्रधानमन्त्री केपी ओलीले पनि उनीहरुकै लागि दल विभाजन सम्बन्धि अध्यादेश ल्याएको बताएपछि दुई दलले लामो समयदेखि छलफलमा रहेको एकता प्रक्रियालाई पूर्णता दिएका हुन् । समाजवादीका सांसद सुरेन्द्र यादवलाई जनकपुरबाट सरकारी संरक्षणमा पार्टी विभाजनको लागि काठमाडौं ल्याएको सुचनापछि नेताहरुले एकता प्रक्रियासँगै नेताहरुले विभाजन रोक्न पनि हिजैदेखि कसरत गरेका थिए ।

पार्टी विभाजनको लागि काठमाडौंकै एक होटलमा राखिएका सांसद यादव बिहीबार विहान त्यहाँबाट फुत्किएर नेताहरुको सम्पर्कमा पुगेका थिए । नेताहरुको कसरतपछि पार्टी विभाजनको कसरत पनि असफल भएको छ । विभाजनको अगुवाई गरेकामध्येका एक सांसद प्रदिप यादवले आपूmहरुको असन्तुष्टि रहेपनि पार्टी विभाजन नगर्ने बताउनुभएको छ ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन नभई अब थप एकताबद्ध भएर अगाडि जाने बताउनुभएको छ । एकीकृत दल दर्ताको निवेदन दिएपछि प्रतिक्रिया दिँदै उहाँले सबै सांसदहरु पार्टीको सम्पर्कमा रहेको रहेको जानकारी दिनुभयो ।

बिहिबार, ११ बैशाख, २०७७, दिउँसोको १२:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर