नेकपामा स्थायी समिति बोलाउन दवाव

के छ ओली र प्रचण्डलाई बुझाएको पत्रमा ?

विराटनगर । पार्टीको स्थायी समितिको बैठक बोलाउन माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २० जना स्थायी समिति सदस्यहरुले पार्टी अध्यक्षहरुलाई माग पत्र बुझाएका छन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई उनीहरुले माग पत्र पेश गरेका हुन् ।

नेकपाका स्थायी समिति सदस्यहरु अष्टलक्ष्मी शाक्य, गणेश शाह, गोकर्ण विष्ट, चक्रपाणी खनाल जनार्दन शर्मा, टोपबहादुरर रायमाझी, देव गुरुग, देवेन्द्र पौडेल पम्फा भुषाल,बेदराम भुषाल भीम आचार्य, भीम रावल, मणि थापा, मात्रिका यादव, मुकुन्द न्यौपाने युवराज ज्ञवाली, रघु पन्त , लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे र हरिबोल गजुरेलले बैठक बोलाउन माग गर्दै अध्यक्षद्वयलाई पत्र बुझाएका हुन् । बैठक माग गर्नेमा ९ जना पूर्वएमाले र ११ जना पूर्वमाओवादी पूष्ठभूमिका नेताहरु छन् ।

पार्टीभित्र पछिल्ला दिनका घटनाक्रम र कोरोना संक्रमणको समयमा पार्टी परिचालन आदि विषयमा छलफल गर्न बैठक आवश्यक परेको पत्रमा उल्लेख छ ।

पार्टीमा कुनै छलफल नगरी ल्याइएको दुई अध्ययादेश हतारमा जारी गर्ने कार्यप्रति नेताहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले सरकारले राष्ट्रिय मुल दायित्वबाट अन्यत्र ध्यान मोड्न खोजेको आरोप पनि लगाएका छन् ।

देश र जनताका सामु आएको कोरोना विषाणुको संक्रमणको गम्भीर स्वास्थ्य संकट र त्यसबाट सिर्जित समस्याहरु तथा नेपालको राजनीतिक प्रणाली तथा संविधानको मर्ममा नै असर पार्ने कानून संशोधन गर्ने अध्यादेश जस्तो संवेदनशील विषयमा पार्टीमा गहन र व्यापक छलफल हुनुपर्नेमा उहाँहरुले जोड दिनुभएको छ ।

मागपत्रमा स्थायी कमिटीको बैठक पछि केन्द्रीय कमिटीको बैठकमा समेत यी विषयमा छलफल हुनुपर्ने भनिएको छ ।

बुधबार, १० बैशाख, २०७७, रातीको ०९:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर