उदयपुरमा तीन संक्रमित थपिए , देशभर ४५, उदयपुरमा २७ संक्रमित

संक्रमणको अझै स्रोत खुलेन/थप परीक्षणको प्रक्रिया अघि बढेन/प्रदेश र संघीय सरकारप्रति मेयरको गुनासो

विराटनगर । उदयपुरको भुल्केका थप तीन जनालाई कोरोना संक्रमण देखिएको छ ।

त्रियुगा ३ भुल्केस्थित मस्जिदमा बस्दै आएका १६ जनामध्ये यसअघि कोरोना परीक्षण नेगेटिभ नतिजा आएपछि क्वारेन्टाइनमा राखिएका थप ३ जनामा पनि कोरोना पुष्टि भएको हो ।

सुनसरीको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परीक्षणको क्रममा बुधबार उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केका २४ वर्ष, ६० वर्ष र ७२ वर्षका पुरुष संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुलाई मोरङको टाँडी स्थित क्वारेन्टाइनमा राखिएको थियो ।

सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले जानकारी दिनुभयो । यसअघि भुल्केका २४ जनामा संक्रमण देखिएको थियो । यो सँगै उदयुरमा मात्र कोरोना संक्रमितको संख्या २७ पुगेको छ भने देशभर ४५ जना संक्रमित भएका छन् ।

मंगलबार मात्र भुल्के बस्तीका ११ जनामा संक्रमण देखिएको थियो । शुक्रबार १२ र शनिबार एक जनामा संक्रमण देखिएपछि गरिएको परीक्षणको क्रममा विराटनगरको प्रयोगशालामा ८ जना र काठमाडौंको प्रयोगशालमा ३ जनामा संक्रमित थपिएका थिए ।

संक्रमण देखिएका व्यक्तिलाई विराटनगर पठाउने ल्याउने तयारी भइरहेको छ । उदयपुरमा कोरोना पोजेटिभ देखिएका ११ भारतीयसहित २३ जना विराटनगरको कोभिड १९ उपचार केन्द्रमा उपचाररत छन् ।

संक्रमणको अझै स्रोत खुलेन
उदयपुरको भुल्केमा समुदायमा कोरोना देखिएको भएपनि संक्रमणको स्रोत अझै खुल्न सकेको छैन । मस्जिलमा रहेका जमातीमार्फत कोरोना फैलिएको आशंका गरिएकोमा उनीहरु चार महिना अगाडि नै नेपाल आएको खुलेपछि संक्रमणको स्रोत खुलेको छैन ।

मंगलबार संक्रमण पुष्टि भएका ११ जनामध्ये ३ जना लकडाउन सुरु हुनु अगाडि विदेशबाट आएको खुलेको छ । अहिले उनीहरुमार्फत नै संक्रमण फैलिएको आशंका हुन थालेको छ । संक्रमित १८ वर्षीय युजा भारतको युपीमा उर्धु भाषा अध्ययन गरेर लकडाउनभन्दा केहि दिनअघि मात्र घर आएको खुलेको छ ।

यसैगरी संक्रमित अन्य दुई जना वैदेशिक रोजगारीबाट आएको खुलेको छ । फागुन महिनामै घर आएका उनीहरुबाट संक्रमण फैलिएको हो या जमातीबाट फैलिएको हो भन्ने यकिन हुन सकेको छैन ।

संक्रमितको संख्या एकै दिन ११ जना बढेपछि बस्तीमा त्रास फैलिएको छ । भारतबाट आएका जमाती बसेको खवरपछि स्वाब संकलन गर्दा बैशाख ५ र ६ गते १३ जनामा कोरोना पुष्टि भएको थियो । लगत्तै स्थानीय प्रशासनले भुल्के क्षेत्र सिल गरी प्रदेश र नेपाली सेनाको काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले तीन दिन लगाएर ३ सय २० जनाको स्वाब संकलन गर्दा थप १२ जनामा संक्रमण देखिएको हो ।

थप परीक्षणको प्रक्रिया अघि बढेन
यसैबीच २४ जनामा संक्रमण देखिएपछि त्रियुगामा सुरक्षा कडा बनाउने र परीक्षण ब्यापक बनाउने निर्णय प्रदेश सरकारले मंगलबार गरेको थियो । तर, थप परीक्षणको प्रक्रिया बुधबार अगाडि बढेको छैन ।

आवश्यक उपकरण नभएकोले थप परीक्षणको प्रक्रिया अगाडि नबढेको स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले बताउनुभयो । ‘विराटनगरबाट कहिले सामान आएपछि परीक्षण थाल्छौं’ उहाँले भन्नुभयो,‘अहिलेसम्म पठाएको छैन, कहिले पठाउँछ भन्ने पनि थाहा छैन ।’

प्रदेश र संघीय सरकारप्रति मेयरको गुनासो
यसैबीच त्रियुगा नगरपालिकाले महामारी फैलिएको अवस्थामा पनि प्रदेश र संघीय सरकारले बेलैमा पहल नलिएको गुनासो गरेको छ । नगरप्रमुख बलदेव चौधरीले बुधबार पत्रकार सम्मेलन गरी समस्या बिकराल बन्दै गएको बेला तत्काल सरकारले पहल लिनुपर्ने माग गर्नुभयो ।

तुरुन्तै क्याम्प राखेर परीक्षणको दायरा बढाउनुपर्ने र विरामीलाई उदयपुरमै उपचार गर्नसक्नेगरी अस्पताल निर्माण गर्नुपर्ने मेयर चौधरीको माग छ । त्रियुगामा सरकारले विषेश टोली खटाउनुपर्ने माग गर्दै उहाँले बस्तीमा पनि कोरोना फैलिएको आशंका रहेकोले तत्काल रेन्डम्ली परीक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बुधबार, १० बैशाख, २०७७, दिउँसोको ०४:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर