इटहरी । अबैध रुपमा ह्याण्ड सेनिटाईजर उत्पादन तथा भण्डारण गरी कालो बजारी गर्ने दुई जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
इटहरीको मनकामना टोलमा संचालनमा रहेको सौर्य केमिकलका संचालक ३० वर्षीय अतित गुरागाँई र इटहरी ६ का ४५ वर्षीय अमरजीत गोश्वामी पक्राउ परेका हुन् ।
गुरागाईंले कुनैपनि निकायबाट अनुमति नलिई सौर्य नामक ह्याण्ड सेनिटाईजर उत्पादन गरी गोस्वामीको कस्मेटिक पसल जेबी ईन्टप्राईजेजमा भण्डारण गरेको अवस्थामा प्रहरीले बरामद गरेको छ । प्रहरीले, आफुखुसी स्तर घटाएर उत्पादन गरी विभिन्न प्लाष्टिकका बोतलहरुमा लेवल टाँसेर बजार मुल्यभन्दा बढिमा बेचबिखन गर्न तयार गरिएका १७७० वटा प्लाष्टिकका बोत्तलहरु बरामद गरेको जनाएको छ ।
यसैगरी वाग्मती लेखिएको हरियो वाल्टिनमा रहेको सेतो तरल पदार्थ १६२ लिटर र १५०० खाली वट्टा तथा ९५ बण्डल स्टिकरसमेत बरामद गरिएको छ । पक्राउ परेका सेनिटाईजर उत्पादक र बिक्री वितरण गर्ने दुबैलाई पक्राउ गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिम म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

