विराटनगर । एकसाथ १३ जनामा कोरोना देखिएको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के गाउँका थप ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
उदयपुरबाट गत शनिबार संकलन गरी विराटनगर ल्याएको ६९ जनाको स्वाब परीक्षण गर्दा ८ जना पुरुषमा कोरोना देखिएको हो ।
५३ परिवारका ६० जना, जिल्ला स्वास्थ्य प्रमुख, उहाँका सवारी चालक, दुई जना स्वास्थ्य कर्मचारी र ५ जना सुरक्षाकर्मीको स्वाब गत शनिबार संकलन गरी विराटनगर ल्याइएको थियो । कोशी अस्पतालमा भएको परीक्षणमा ८ जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई नै थप परीक्षण गर्न उदयपुरबाट धरान ल्याईँदैछ ।
धरानमा पुनः परीक्षणपछि उनीहरुमा कोरोना भए नभएको यकिन हुनेछ । यसअघि काठमाडौं बाहिरका प्रयोगशालामा भएको परीक्षण काठमाडों लगेर पुनः परीक्षण गर्नुपर्ने प्राबधान थियो । सरकारले काठमाडौं बाहिर बीपी प्रतिष्ठान र भेरी अस्पताललाई भेरिफाई परीक्षण तोकेपछि विराटनगरको परीक्षण बीपीमा भेरिफाइ हुन लागेको हो ।
विराटनगरको प्रयोगशालामा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएका सबैजना अलग–अलग ८ परिवारका हुन् । उनीहरुका परिवारका अन्य सदस्यको स्वाब भने नेपाली सेनाको टोलीले संकलन गरेर काठमाडौं लगेको छ । त्यसको रिपोर्ट पनि संभवतः आजै आउनेछ । आइतबार भुल्के आएको नेपाली सेनाको छाउनी अस्पतालका चिकित्सक टोलीले दुई दिन लगाएर २ सय ५२ जनाको स्वाब संकलन गरेर काठमाडौं लगिसकेको छ ।
यसैबीच कोरोना पोजेटिभ देखिएका ८ जनालाई एम्बुलेन्समा चढाएर उदयपु्रबाट हिँडाएको नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले जानकारी दिनुभयो । मंगलबार ११ बजे नै २ वटा एम्बुलेन्समा हालेर उनीहरुलाई धरान ल्याइएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले मन्त्रालयबाट थप परीक्षणका लागि पठाउन आदेश भएपछि उनीहरुलाई एम्बुलेन्सबाट पठाएको बताउनुभयो । संकलन गरेका स्वाब सबैका रिर्पोट आउन बाँकी रहेको उहाँको भनाइ छ । अहिले कोरोना देखिएकाहरु मस्जिद वरिपरी घर भएका हुन् ।
यस अघि त्रियुगास्थित मस्जिदमा थप १३ जनामा कोभिड १९ देखिएको थियो । ११ भारतीय र १ नेपालीमा गत शुक्रबार संक्रमण पुष्टी भएको थियो । त्यस्तै उनीहरुसँगै बस्दै आएका विराटनगरका ६५ वर्षीय व्यक्तिमा गत शनिबार कोरोना पुष्टी भएको थियो ।१३ जना विराटनगरको कोरोना अस्पतालमा उपचाररत छन्।
उदयपुर भुल्के इपिसेन्टर थपा परिक्षण गर्दा ८ परिवारमा कोरना पोजेटिभ भएको समचार अायो । अब सबैको अाशा भरोसा सरकार माथि नै छ । गर्ने सरकारले नै हो भन्ने सरकारलाई नै हो ।