एजेन्सी । राष्ट्रपति ट्रम्पका सल्लाहकार पिटर नभारोले कोरोना भाइरस संक्रमणको प्रारम्भिक संक्रमण तथ्यांक चीनले लुकाएको हुनसक्ने आरोप लगाएका छन् ।
सोमबार उनले कोरोना भाइरसविरूद्धको भ्याक्सिनको व्यवसायिक लडाईं जित्न चीनले यस्तो गरिरहेको बताएका हुन् ।
गत वर्षको अन्त्यदेखि चीनको वुहान शहरबाट सुरु भएको महामारीबाट यतिबेला अमेरिका संसारको सबैभन्दा बढी प्रभावित मुलुक हो । उसले सुरुदेखि नै चीनसँग यस महामारीको प्रारम्भिक तथ्यांक माग गर्दै आइरहेको छ ।
उनीहरू भाइरसविरुद्ध खोप बनाउने दौडमा रहेकाले हामीलाई भाइरसका प्रारम्भिक तथ्यांक दिन नखोजेको हुनुपर्छ । उनीहरूले यसलाई एउटा प्रतिष्पर्धात्मक व्यापार युद्ध ठानेको हुनुपर्छ । यो व्यापार प्रस्ताव हो जसका कारण उनीहरू विश्वलाई भ्याक्सिन बेच्न सक्नेछन्न् , उनले भने ।
‘तर हामी उनीहरूलाई हराउँनेछौं। राष्ट्रपति ट्रम्पको नेतृत्वले गर्दा हामी उनीहरूलाई हराउँनेछौं । हामी उनीहरूलाई हराउँछौ किनकी स्वास्थ्य र स्वस्थ्य सेवाले पाँच कम्पनीलाई यसमा लगाइसकेको छ’, उनले दाबी गर्दै भने ।
चीनका कटु आलोचक नभारोलाई राष्ट्रपति ट्रम्पले कोरोना भाइरस महामारीसँग सम्बन्धित आपूर्तिमा काम गर्ने जिम्मेवारी दिएका छन् ।
हालसम्म कोरोनाको कुनै निश्चित उपचार र भ्याक्सिन उपलब्ध छैन । त्यसैले संसारभरका वैज्ञानिक सबैभन्दा पहिलो यसको भ्याक्सिन बनाउने दौडमा रहेका छन् । यसमा शक्ति राष्ट्रहरूबीच होडबाजी चलेको छ । यध्यपी हालसम्म कसैले सफलता प्राप्त गर्न सकिरहेका छैनन् ।
यस महामारीले हालसम्म संसारभर १ लाख ६५ हजार बढी मानिसको ज्यान लिइसकेको छ भने २४ लाख बढी मानिस संक्रमित भएका छन् ।
अमेरिकामा मात्रै संक्रमितको संख्या ७ लाख ६० हजार नाघिसकेको बताइन्छ भने झण्डै ४२ हजार बढी मानिसहरूको यसबाट मृत्यु भइसकेको छ । सेतोपाटीबाट