काठमाडौंं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म ३० नेपालीको मृत्यु भएको छ ।
एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकानुसार २८ जना गैरआवासीय नेपालीको कोरोनाको कारण मृत्यु भएको हो ।
बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा २ र आयरल्याण्डमा एक जनाको निधन भएको छ। एनआरएनएले अमेरिकामा ८ नेपालीको निधन भएको रिपोर्ट संकलन गरेको भएपनि वासिन्टन स्थित रासस संवादादाता मधुकर अधिकारीले १० जनाको निधन भइसकेको समाचार लेखेका छन् । यसरी कोरोनाको कारण विदेशमा मृत्यु हुनेको संख्या ३० पुगेको हो ।
एनआरएनका स्वास्थ्य उपसमितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर १ हजार १६६ गैरआवासीय नेपाली अहिले कोरोनाबाट संक्रमित छन् ।
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सको समूहले तयार पारेको आँकडानुसार २१ देशमा रहेका नेपाली कोभिड –१९ बाट संक्रमित रहेका छन् । नेपालमा भने १९ हजार ५५४ जनामा परीक्षण गरिएकामा ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने दुई जना कोरोनामुक्त भई घर फर्किसकेका छन् ।
संक्रमित हुने विदेशमा बसेका नेपालीमा अमेरिकामा करिब ७ सय, बेलायतमा दुई सय, संयुक्त युएईमा ७१, बहराइनमा ४९, आयरल्याण्ड र पोर्तुगलमा २२–२२, कुवेतमा २१, अष्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा पाँच, जर्मनी, बेल्जियम र साउदी अरबमा चार÷चार, क्यानडा र मलेसियामा तीन÷तीन, माल्टामा दुई तथा फ्रान्स, जापान, म्यान्मा र हंकंमा एक÷एक जना रहेको उपसमितिले जनाएको छ ।
विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक र कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर सो आँकडा तयार पारेको हो । एनआरएनका अध्यक्ष पन्तका अनुसार बिहीबार साँझसम्म दुई दर्जनभन्दा बढी देशमा १० हजारभन्दा बढी कोरोना पीडितका लागि राहत वितरण गरिएको छ । (रासस)