र्‍यापिड टेष्टमा प्रदेश १ का थप दुईमा पोजेटिभ देखियो, स्वाब परीक्षण हुने

विराटनगर । उदयपुरमा एकैदिन १२ जनामा कोरोना संक्रमण देखिएपछि त्रसित बनेको प्रदेश १ मा शनिबार र्‍यापिड डाइग्नोष्टिक टेष्टमा दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

शनिबार र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा सुनसरीको हरिनगरा र तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाका १/१ जनामा एण्टीबडी पोजेटिभ देखिएको हो ।

सुनसरीमा देखिएको एण्टीबडी पोजेटिभ प्रदेश सरकारले पुष्टि गरेको छ भने तेह्रथुममा पनि पोजेटिभ देखिएको जिल्ला स्वास्थय कार्यालय तेह्रथुमले जनाएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताका अनुसार हरिनगरा गाउँपालिकामा पोजेटिभ देखिएका पुरुषलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

तेह्रथुमबाट शंकास्पद ४ जनाको थ्रोट स्वाब संकलन गरेर वीपीमै पठाउने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगराज घिमिरेले जानकारी दिनुभयो । तेह्रथुममा पोजेटिभ देखिएका व्यक्ति केहि दिन अगाडि धनकुटा गएर फर्किएको बताइएको छ । उनी जिल्ला अस्पतालको आइसोलेशनमा छन् ।

शंकास्पद देखिएपछि उनको परिवारलाई पनि आइसोलेशनमा राख्ने तयारी भएको स्वास्थ्य कार्यालय प्रमुख घिमिरेले बताउनुभयो । जिल्लामा ८ बेडको आइसोलेशन वार्ड छ । जसमा ४ जना राखिएकोमा सबैको स्वाब संकलन भएको छ ।

यसअघि झापाको हल्दिबारीका एक युवा र मोरङको बुढिगंगाकी युवतीमा पनि आरडिटी गर्दा पोजेटिभ देखिएको थियो । तर, उनीहरुको स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको छ ।

आरडिटी देखिनुको अर्थ ती व्यक्ति कोरोना संक्रमित भएको पुष्टि हुने चिकित्सकको दावी छ । तर, स्वाब परीक्षण गर्दा नेगेटिभ आएमा कोरोना निको भइसकेको मानिन्छ ।

यद्यपी उदयपुरमा कोरोना संक्रमित पुष्टि भएका १२ जनाको आरडिटी गर्दा नेगेटिभ देखिएकोले यो परीक्षणको विश्वसनीयतामाथि नै प्रश्न खडा भइरहेको छ ।

शनिबार, ०६ बैशाख, २०७७, साँझको ०७:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर