विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के स्थित मस्जिदमा वरिपरीको बस्तीका सबैको कोरोना परीक्षण हुने भएको छ ।
यसअघि र्यापिड टेस्टमा पोजेटिभ देखिएका मस्जिदमा बस्ने १२ जनामा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरेर पिसिआर बिधिबाट परीक्षण हुने भएको हो ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार आवश्यकता अनुसार स्वाब संकलन र र्यापिड टेस्ट गर्न स्वास्थ्यकर्मीको टोली विराटनगरबाट हिँडिसकेको छ । ‘मुख्य रुपमा संक्रमितको सम्पर्कमा आएकाहरु सबैको स्वाब नै संकलन हुन्छ’ उहाँले भन्नुभयो, ‘त्यहाँको अवस्था हेरेर स्वास्थ्यकर्मीको टोलीले र्यापिड टेस्ट पर्ने गर्नेछ ।’
दुबै बिधिको परीक्षण गर्न आवश्यक उपकरणसहतिको टोली उदयपुर हिँडेको हो । र्यापिड टेस्ट गरिएकाको तत्काल नतिजा आउनेछ भने संकलन गरिएको स्वाब कोशी अस्पतालको प्रयोगशालामा ल्याएर परीक्षण हुनेछ । उदयपुर प्रशासनले भने र्यापिड टेस्टको नतिजाले जोखिम बढाएको भन्दै सबैको स्वाब परीक्षणमा जोड दिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले झुल्केको मस्जिद वरिपरी रहेको ४५ घर मुस्लिम बस्तीको भने स्वाब नै परीक्षण गर्ने जानकारी दिनुभएको छ । र्यापिड टेस्टको नतिजाले एकपटक झुक्याइएसकेकोले अब स्वाब परीक्षण हुनुपर्ने माग प्रदेश सरकारमा राखेको र त्यहि अनुसार टोली आइरहेको उहाँले बताउनुभयो । त्यसबाहेक अन्य शंकास्पदको र्यापिड टेस्ट पनि गर्न सकिने उहाँको भनाइ छ ।
मस्जिदमा बस्दै आएका १२ जनाको पनि र्यापिड टेस्ट गर्दा नेगेटिभ देखिएकोमा पिसिआरमा पोजेटिभ पुष्टि भएपछि सबैलाई विराटनगरको कोरोना विशेष अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। मस्जिदमा संक्रमित १२ जनासँगै जम्मा १६ जना बसेका थिए। नेगेटिभ नतिजा आएका ४ जनालाई मोरङको टाँडीस्थित क्वारेन्टाइन स्थलमा पठाइएको छ।
कोरोना संक्रमण पुष्टि भएपछि भुल्के बस्तीलाई रातिबाट सुरक्षाकर्मीले निगरानीमा राखेका छन् । बस्तीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले घेरा हालेर आउजाउ गर्न नदिएको सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो । आसपासका स्थानीलाई पनि घरबाहिर ननिस्कन सुरक्षाकर्मीहरुले अपिल गरिरहेका छन् ।
संक्रमितहरु भारतबाट आएपछि बस्तीमा प्रवेश गर्ने गरेकोले थप त्रास रहेको स्थानीयले बताएका छन् । उनीहरु गाउँभरि हिडेकाले थप व्यक्तिलाई पनि संक्रमण भएको हुनसक्ने अनुमान रहेको स्थानीय यदु ढकालले जानकारी दिनुभयो ।
जनस्वास्थ्य प्रमुखको पनि स्वाब परीक्षण हुने
यसैबीच संक्रमितको सम्पर्कमा गएका जनस्वास्थ्य कार्यालय कार्यालयका प्रमुखसहित चार जनाको पनि स्वाब परीक्षण गरिने भएको छ । र्यापिड टेस्टको क्रममा मस्जिदमा गएको कारण जनस्वास्थ्य प्रमुख सुवेदीसहित उहाँको सवारी चालक र नमुना लिने दुई स्वास्थ्यकर्मीको स्वाब परीक्षण हुने भएको हो ।