संक्रमितहरु मध्यरातमा विराटनगरको कोरोना अस्पतालमा भर्ना

विराटनगर । उदयपुरको एउटै मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमितलाई विराटनगरको कोशी अस्प्ताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा उपचार सुरु भएको छ ।

शुक्रबार संक्रमण पुष्टि भएका एक नेपाली र ११ जना भारतीय नागरिकलाई मध्यरातमा प्रदेश १ सरकारले निर्माण गरेको उपचार केन्द्रमा ल्याइएको हो ।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डा.संगीता मिश्राले संक्रमण नदेखिएकालाई अस्पतालमा भर्ना नगरेको बताउनुभयो । अस्पतालमा भर्ना भएकाहरुलाई कुनै लक्षण भने छैन । उनीहरुलाई अहिले स्वास्थ्यकर्मीले निगरानीमा राखेका छन् ।

उदयपुरको मस्जिदमा बस्दै आएका १६ जनामध्ये १२ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएकोमा संक्रमितको पहिचान नभएको भन्दै उदयपुरको स्थानीय प्रशासनले १६ जनालाई नै विराटनगर पठाएको थियो ।संक्रमितसँगै आएका ४ जनालाई भने मोरङको टाडीस्थित क्वारेन्टाइनमा पठाइएको छ ।

संक्रमितहरु ४ जना २८ वर्षका, २ जना २९ वर्षका छन् भने अरु ३४, २६, २२, २५, २० र ४० वर्षका छन् । राति करिब साढे ११ बजे नेपाल प्रहरीको स्कटिङमा ४ वटा एम्बुलेन्समा राखेर उनीहरुलाई नेशनल ट्रेडिङमा बनेको कोभिड १९ उपचार केन्द्रमा ल्याइएको हो ।

नेशनल ट्रेडिङमा प्रदेश सरकारले ५० शैय्याको अस्थायी कोरोना अस्पताल निर्माण गरेको छ । जसको व्यवस्थापन कोशी अस्पताल विराटनगरले गर्दै आएको छ ।

कोसी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा बिहीबार उनीहरुमा कोरोना पोजेटिभ भेटिएको थियो। सोही रिपोर्टलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत शुक्रबार पुष्टि गरेको हो।

शनिबार, ०६ बैशाख, २०७७, बिहानको ०९:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर