विराटनगर । उदयपुरको त्रियुगास्थित मस्जिदमा रहेका १६ जनामध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा उनीहरुमध्ये एक जना नेपाली भएको पाइएको छ ।
शुक्रबार संक्रमण रहेको पुष्टि भएका उदयपुरका १२ मध्ये एक नेपाली र ११ भारतीय रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । उदयपुरका १२ संक्रमित पुरुषहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ ।
त्रियुगा ३ भुल्केस्थित मस्जिदमा बसिरहेका १६ जनामध्ये पोजेटिभ देखिएका १२ जनाको स्पष्ट पहिचान गर्न नसकेपछि सबैलाई विराटनगर पठाएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले जानकारी दिनुभएको छ । संक्रमितको व्यक्तिगत विवरण प्राप्त नहुँदा पहिचान गर्न गाह्रो भएपछि सबैलाई एम्बुलेन्समा हालेर पठाएको उहाँको भनाइ छ । मस्जिदमा बस्ने ४ जना भने नेपाली रहेको बताइएको छ
भुल्केको मस्जिलमा लुकेर भारतीय बसेको जानकारीपछि उनीहरुको स्वाब परीक्षणको लागि विराटनगरस्थित कोशी अस्पतालमा ल्याइएको थियो । परीक्षणमा ८ जनाको पोजेटिभ देखिएको थियो । तर, थप शंका भएपछि सबैको नमुना टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा लगेर परीक्षण गर्दा १२ जनामा कोराना भएको पुष्टि भएको हो ।
उदयपुरबाट ल्याइने कोरोना संक्रमितलाई विराटनगरको कोभिड–१९ विषेश अस्पतालमा राखिनेछ । अस्पतालको व्यवस्थापन कोशी अस्पतालले गर्नेछ ।
यसैबीच संक्रमण पुष्टि भएपछि त्रियुगाको मस्जिद र आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीले मस्जिद र आसपासको क्षेत्रमा हिँडडुलमा रोक लगाएका छन् । यो क्षेत्रलाई शिल गर्ने र संक्रमितको ट्राभल हिष्ट्री खोजी गर्ने काम सुरु भएको उदयपुरका प्रजिअ पहाडीले बताउनुभयो ।
भारतको राजधानी दिल्लीस्थित निजामुद्दिन मस्कज मस्जिद धार्मिकसभामा भाग लिएर उनीहरु विराटनगर हुँदै आएको स्थानीयवासीले बताएका छन् । उनीहरुले लकडाउन अगाडि नै नेपाल आएको बताएपनि स्थानीयले भने लकडाउनको समयमा चोरबाटो हुँदै भुल्केको मस्जिदमा आएर लुकी बसेको दावी गरेका छन् ।
शुक्रबार एकैदिन उदयपुरमा १२ र चितवनमा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरुमध्ये पहिलो संक्रमित निको भइसकेका छन् । संक्रमितमध्ये १३ जना भारतीय छन् ।