उदयपुरका ८ जनाको स्वाब पोजेटिभ, टेकुमा पुनः परीक्षण हुँदै

मस्जिद वरिपरी शिलबन्दीको तयारी/पोजेटिभ देखिएकालाई अस्पताल लैजान एम्बुलेन्स खोजी हुँदै

विराटनगर । उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ।

त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १२ भारतीयमध्ये कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा ८ जनामा कोरोना देखिएको हो ।

स्रोतका अनुसार उनीहरुमध्ये ८ जनाको रिपोर्ट पोजेटिभ भेटिएपछि थप परीक्षणको लागि स्वाबको नमुना बिहीबार राति राति नै काठमाडौं पठाइएको थियो । राति ११ बजे सामाजिक विकास मन्त्रालयको गाडीले लगेको स्वाब विहानै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुगेर परिक्षण भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । टेकुमा पुनः परीक्षणपछि संभवतः आज नै फाइनल रिपोर्ट सार्वजनिक हुने बताइएको छ ।

कोशी अस्पतालमा गरिएको परीक्षणमध्ये पोजेटिभ देखिएको ८ जनाको सहित नेगेटिभ देखिएको अन्य शंकास्पद १० जनाको स्वाब पनि पुनः परीक्षणको लागि काठमाडौं पठाएको बुझिएको छ । नयाँ प्रयोगशाला भएकोले केही रिपोर्ट भेरिफाइको लागि काठमाडौं पठाउने गरिएको छ ।

यसैबीच ८ जनामा कोरोना देखिएपछि त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिद र आसपासको क्षेत्र शिलबन्दीको तयारी गरिएको छ । सुरक्षाकर्मीले मस्जिद र आसपासको क्षेत्रमा हिँडडुलमा रोक लगाएको छ । संक्रमितलाई अस्पताल लैजानको लागि एम्बुलेन्स खोजी भइरहेको उदयपुर प्रशासनले जनाएको छ ।

भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वास्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो। उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो।

भारतको राजधानी दिल्लीस्थित निजामुद्दिन मस्कज मस्जिद धार्मिकसभामा भाग लिएर उनीहरु आएको स्थानीयवासीले बताएका छन् । उनीहरुले लकडाउन अगाडि नै नेपाल आएको बताएपनि स्थानीयले भने लकडाउनको समयमा चोरबाटो हुँदै भुल्केको मस्जिदमा आएर लुकी बसेको दावी गरेका छन् ।

शुक्रबार, ०५ बैशाख, २०७७, साँझको ०५:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर