चितवन । बेलायतबाट हङकङ हुँदै आएका चितवनका दुई जनामा कोरोना देखिएपछि थप परीक्षण गर्न स्वाब काठमाडौं पठाइएको छ ।
भरतपुर अस्पतालको आइसोलेसनमा रहेका दुई व्यक्तिको स्वाब पिसिआर बिधिबाट परीक्षण गर्दारिपोर्ट पोजिटिभ देखिएपछि त्यसको भेरिफाइ गर्न स्वाब काठमाडौ पठाइएको हो ।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनीहरू राप्ती नगरपालिकाका बासिन्दा हुन् । भरतपुर अस्पतालबाट ३६ वटा नमुना प्रयोगशाला पठाइएकोमा बिहीबार साँझ ३१ वटाको रिपोर्ट आएको थियो। ती सबै नेगेटिभ थिए। बाँकी पाँच वटाको राति अबेर रिपोर्ट प्राप्त हुँदा दुर्इ वटामा पोजेटिभ देखिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले त्यसको थप परीक्षण गरेपछि कोरोना भए नभएको यकिन हुनेछ । पोजेटिभ देखिएका उनीहरूमा अहिलेसम्म कुनै खाले लक्षण नदेखिएको र अवस्था सामान्य रहेको बताइएको छ ।
बुधबार र्यापिड डायग्नोस्टिक टेस्टका क्रममा एक महिलामा कोरोना एन्टीबडी पोजेटिभ आएको थियो । उनी र उनका दुई छोरालाई सोही दिन भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनीहरुमध्ये आमा र एउटा छोराको नमुना पिसिआर बिधिबाट परीक्षण गर्दा पनि पोजेटिभ देखिएको हो ।
भरतपुरमा अहिलेसम्म २१४ जनाको स्वाब परीक्षण भएको छ। जिल्ला स्वास्थ्य कार्यालयले विदेशबाट फर्केर १७ दिन होम क्वारेन्टाइनमा बसेकाहरूको आरडीटी सुरु गरेको छ।

