एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट गएको २४ घण्टामा मात्रै अमेरिकामा ४ हजार ४ सय ९१ जनाको मृत्यु भएको छ ।
डिसेम्बरमा चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण देखिएयता कुनै पनि देशमा एकैदिन मृत्यु भएको यो सबैभन्दा बढी हो।
शुक्रबार विहानसम्म अमेरिकामा ३४ हजार ६ सय ४१ जनाको मृत्यु भएको वल्र्डो मिटर डट इन्फोले जनाएको छ । शुक्रबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७८ हजार पुगेको छ। अमेरिकामा त्यस्तै ५७ हजार ७ सय जना निको भएका छन्।
भाइरसबाट संक्रमित र मृतकको संख्या हरेक दिन बढिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने लकडाउन हटाउने तयारी थालेका छन् । राज्यका गभर्नरहरुका लागि एक निर्देशिका जारी गर्दै उनले तीन चरणमा लकडाउन खुला गर्ने रणनीति अघि सारेका हुन् ।
ट्रम्पले केही राज्यहरुमा यसै महिनादेखि लकडाउन हटाउने बताउँदै आएका छन् । देश बन्द राख्नु दिगो समाधान नभएको भन्दै उनले लामो समयको लकडाउनले सार्वजनिक स्वास्थ्यमा गम्भीर समस्या ल्याउने बताएका छन् ।
ट्रम्पले स्वस्थ नागरिकले निश्चित नियम पालना गरेर काममा फर्किने प्रस्ताव गरेका छन् । ट्रम्पको उक्त प्रस्तावको गभर्नरहरुले भने विरोध गर्दै आएका छन् ।
शुक्रबार बिहानसम्म विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४४ हजार ४७ रहेको छ। त्यस्तै संक्रमितको संख्या २१ लाख ५७ हजार पुग्दा करिब ५ लाख ४३ हजार निको भएका छन्।