आरडिटी पोजेटिभ देखिएकी मोरङकी युवतीको स्वाब परीक्षण हुँदै, दिउँसोसम्म रिपोर्ट आउने

विराटनगर । र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) मा पोजेटिभ देखिएकी मोरङको बुढिगंगा १ की युवतिको कोशी अस्पतालमा स्वाब परीक्षण भइरहेको छ ।

भारतको बैङ्लोरबाट एक महिना अगाडि घर आएकी युवतिको बिहीबार आरडिटी गर्दा पोजेटिभ देखिएपछि कोशी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरि स्वाब परीक्षण थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्रले जानकारी दिनुभयो ।

बुढिगंगा–१ यादव टोल बस्ने उनको सामुदायिक स्वास्थ्य केन्द्रमा गरिएको आरडीटी परीक्षणका क्रममा एण्टीबडी पोजेटिभ भेटिएपछि नेशनल टे«ेडिङ स्थित कोभिड १९ विषेश अस्पताल लैजाने बताइएको थियो । तर, उनको पिसिआर परीक्षणमा पनि पोजेटिभ देखिएमात्र सो अस्पतालमा लैजाने गरी कोशीकै आइसोलेसनमा राखिएको डा. मिश्रले बताउनुभयो । युवतीमा कोरोनाको कुनै लक्षण भने नदेखिएको अस्पतालले जनाएको छ ।

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि युवतीलाई विराटनगरस्थित कोशी अस्पताल ल्याउन बुढिगंगा १ का वडा अध्यक्षसहितको टोली उनको घर पुगेको थियो । उनलाईअस्पतालसम्म लैजानका लागि एउटा भ्यान बोलाइएकोमा कोरोना शंकास्पद विरामी बोक्न चालकले नमानेपछि एम्बुलेन्समा राखेर ल्याइएको थियो ।

आरडिटी पोजेटिभ देखिएकी युवतीको स्वाब संकलन भएको र दिउँसोसम्म रिपोर्ट आउने कोशी अस्पतालले जनाएको छ । अध्ययनको लागि भारतको बैंगलोरमा बस्दै आएकी २७ युवती कोरोनाको जोखिम बढेपछि सरकारले लकडाउन घोषणा गरेकै दिन घर फर्किएको स्थानीयले जानकारी दिएका छन् ।

युवतीको स्वाब परीक्षणपछि कोरोना भए नभएको यकिन हुनेछ । उनीसँगै आएकी अर्की युवतिको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको छ । युवतीमा कोरोनाको आशंकापछि उनको परिवारका सदस्यलाई होम क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरुबल्लभ बरालले जानकारी दिनुभएको छ ।

प्रदेश १ मा यसअघि बुधबार झापाको हल्दिबारीका युवकको आरडिटी परीक्षणमा पोजेटिभ देखिएको थियो । बिहीबार उनको स्वाव कोशी अस्पतालमा पिसिआर प्रबिधिबाट परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ ।

आरडीटीमा पोजिटिभ हुनेबित्तिकै स्वाब परीक्षणको परिणाम पनि पोजिटिभ नहुने यसअघि देखिसकेको छ । चिकित्सकहरुका अनुसार पहिले कोरोनाको संक्रमण भएको र रोग प्रतिरोध क्षमताको कारण त्यसलाई परास्त गरेकाहरुको रगत परीक्षणमा आरडिटी पोजेटिभ देखिन्छ ।

शुक्रबार, ०५ बैशाख, २०७७, बिहानको ०८:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर