गृहमन्त्रीको निर्देशनपछि सीमामा थप ८ हजार सशस्त्र प्रहरी परिचालन

विराटनगर । छिमेकी मुलुक भारतबाट नेपालमा कोरोना भारसको जोखिम बढेपछि सरकारले सीमा नाकामा कडाई गर्न थप ८ हजार सुरक्षाकर्मी खटाएको छ ।

शुक्रवार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बढेको बैठकले सीमा आवजावत गर्नेमाथि निगरानी गर्ने निर्देशनसहित थप ८ हजार ३ सय सुरक्षाकर्मी परिचालन गरेको हो ।

अहिले देशभर करिब ५ हजार सशस्त्र प्रहरीले सीमा नाकामा सुरक्षा दिँदै आएका थिए । सीमामा ८७ वटा बोर्डर आउट पोष्ट रहेकोमा अब १ सय २२ पुर्‍याइएको छ। सीमा क्षेत्रमा ७ सय अस्थायी चेकपोस्ट पनि निर्माण गरिएको छ ।

सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरी बलको बराह बाहिनी मुख्यालय सुनसरीबाट १५ सय ४९ जना, छिन्नमन्ता बाहिनी महोत्तरीबाट ३२ सय ६२, गढीमाई बाहिनी मुख्यालय मकवानपुरबाट १९ जना, मुक्तिनाथ बाहिनी कास्कीबाट १८ जना, विन्ध्यवासीनी बाहिनी रुपन्देही २४ सय २० र वैद्यनाथ बाहिन मुख्यालय कैलालीबाट ११ सय १५ जना सशस्त्र प्रहरी खटाइएको गृह मन्त्रालयले जानकारी दिएको छ । अहिले पठाइने अतिरिक्त जनशक्तिको अलावा थप तीन हजार सशस्त्र प्रहरीलाई पनि सीमा क्षेत्रमा खटाउने गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री थापाले भीआईपीको सुरक्षामा रहेका तथा पहाडी र हिमाली जिल्लामा भएका सुरक्षाकर्मीलाई आवश्यकता अनुसार तराईमा खटाउन पनि निर्देशन दिनुभएको छ । गृह मन्त्रालयले कोरोना संक्रमण फैलिन नदिन दुई देशबीच आवतजावत रोक्न सिमानामा थप सुरक्षाकर्मी परिचालन गरेको हो ।

भारतमा दैनिक कोरोना संक्रमित बढ्दै गइरहेको अवस्थामा नेपालमा संक्रमण फैलिन नदिन अन्य बाहिनीमा रहेका सशस्त्र प्रहरीको फौजलाई सिमानामा खटाइएको हो ।

बिहिबार, ०४ बैशाख, २०७७, दिउँसोको ०४:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर