बन्द गर्दा धेरैको मृत्यु भो, अमेरिका अब खुल्छः ट्रम्प

एजेन्सी । देशलाई बन्द गर्दा मानिसहरुको मृत्यु भइरुहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्धहरू छिट्टै खुकुलो पारिने बताएका छन् ।

राष्ट्रपतिले राज्यका गभर्नरहरूसँग छलफल गरेर प्रतिबन्धहरू खुलाउने र मे सुरु हुनु अगाडि नै देश खुल्ला गर्ने बताएका छन् ।

अहिले सबै अमेरिकी राज्यमा सङ्कटकाल लगाइएको छ र अधिकांश मानिसहरू घरभित्रै छन् । राज्यका गभर्नरहरूसँग प्रतिबन्ध खुकुलो पार्दै दैनिक काम सुचारू गर्ने समयका विषयमा ट्रम्पको गम्भीर मतभेद छ ।

न्युयोर्कका गभर्नरले ट्रमको तानाशाही आदेश मान्न नसकिने बताउँदै न्युयोर्क खुल्ला गर्न नसकिने बताइसकेका छन् । उनलाई धेरै गभर्नरले साथ दिएका छन् ।

ट्रम्प प्रशासनले भने जबरजस्ती कतिपय राज्यहरू खुलाउनेबारे नयाँ निर्देशिका जारी गर्ने जनाएको छ । राष्ट्रपति ट्रम्पले त्यो निकै रोमाञ्चक हुने बताएका छन्।

अमेरिकाले अहिलेसम्म झण्डै ३३ लाख कोभिड १९ को जाँच गरेको जनाएको छ जुन त्यहाँको कुल जनसङ्ख्याको झण्डै १ प्रतिशत हो। तर, बुधवार लगातार दोस्रो दिन हालसम्मकै उच्च सङ्ख्यामा अमेरिकामा भाइरसबाट मृत्यु हुनेहरू पाइएको समाचार संस्था रोयटर्सले जनाएको छ।

ट्रम्पले चाहीँ अमेरिकाले नयाँ कोरोनाभाइरसको उत्कर्ष पार गरिसकेको बताएका छन्। अमेरिकी राज्यहरू आफ्नो अर्थतन्त्र सूचारू गर्न बलियो अवस्थामा रहेकोसमेत उनले बताए।

नियमित पत्रकार सम्मेलनकै मौका छोपेर ट्रम्पले दुर्भाग्यवस अझैपनि कतिपय देशहरूले डब्ल्यूएचओमाथि विश्वास गरेर गल्ती गरिरहेको बताएका छन् । अब डब्लुएचओमाथि प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् ।

अमेरिकामा गत २४ घण्टामा २ हजार ४ सय ७९ जनाको मृत्यु भएको छ। कोरानाको इपिसेन्टर बनेको अमेरिकामा अहिले सम्म ज्यान गुमाउनेको संख्या २८ हजार ५ सय २६ पुगेको छ।

वल्डोमिटरले बिहीबार विहान सार्वजनिक गरेको तथ्यांक अनुसार अमेरिकामा एकै दिन ३० हजार भन्दा बढी संक्रमित थपिएका छन्। अमेरिकामा कुल संक्रमितको संख्या ६ लाख ४४ हजार ५५ पुगेको छ। सबै भन्दा धेरै न्यूयोर्कमा ११ हजार पाँच सय ८६ जनाले ज्यान गुमाएका छन्।

बिहिबार, ०४ बैशाख, २०७७, बिहानको ०८:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर