कोरोना विरुद्धको लडाईमा महिला नेतृत्व सफल

एजेन्सी । महाशक्ति अमेरिकासहित शक्तिशाली मुलुकहरु बेलायत, स्पेन, इटालीसहितलाई कोरोनाले आच्छुआच्छु बनाईराख्दा महिलाहरुले नेतृत्व गरेका केही मुलुकहरुले पनि सहज रुपमा कोरोना विरुद्धको लडाईमा सफल बन्दै गएका छन् ।

ताइवान, जर्मनी, न्युजिल्याण्डसहितका देशहरुको नेतृत्व महिलाको हातमा छ । उनीहरुको नेतृत्वमा रहेको सरकारले महामारीविरुद्ध चालेको कदम सफदल बन्दैछ ।

ताइवानमा शुरुवातमा नै लिइएका हस्तक्षेपकारी कदमहरुले यति सफलतापूर्वक कोरोनाभाइरसको महामारी नियन्त्रण गर्यो कि अहिले अहिले लाखौँको संख्यामा मास्कहरु युरोपियन युनियन र अन्य राष्ट्रहरुमा निर्यात गरिरहेको छ ।

जर्मनीले युरोपकै सबैभन्दा बृहद कोभिड–१९ परीक्षण गरिरहेको छ जसमा हप्तामा ३ लाख ५० हजार परीक्षण हरेक हप्ता गरिँदैछ । यसले भाइरसको संक्रमणलाई पहिचान गरी उनीहरुलाई आइसोलेट गरेर प्रभावकारीरुपमा उपचार गर्न मद्दत मिलेको छ ।

न्युजिल्याण्डकी प्रधानमन्त्रीले शुरुवातमै पर्यटनलाई बन्द गरेर एक महिना लामो देशव्यापी लकडाउन लागू गरेकी थिइन् । जसले देशमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या मात्र चार जनामा सिमित बनेको छ ।

तीनै देशले कोरोनाभाइरसको महामारीविरुद्धको युद्धमा चालेको कदमले सबैको प्रशंसा बटुलेको छ । तीनै देश विश्वमान चित्रमा छरिएर रहेका छन्, एउटा युरोपमा, अर्को एसिया र अर्को दक्षिणी प्रशान्त क्षेत्रमा ।

तर यी देशहरुमा एउटै कुरा समान छ – तीन देशको नेतृत्व महिलाले गरेका छन् ।

यी तीनको सफलता तथा अन्य नेतृहरुद्वारा नेतृत्व गरेको सरकारले महामारीविरुद्ध चालेको कदमलाई सबैले ध्यान दिन जरुरी छ किनभने महिलाहरुले विश्वका नेताहरु मध्ये ७ प्रतिशतमात्र स्थान ओगट्छन् ।

शुरुवाती निर्णायक कदम

जनताको उच्च विश्वास प्राप्त सरकार रहेका यी बहुदलवादी प्रजातन्त्रिक देशहरुले शुरुवाती वैज्ञानिक हस्तक्षेपबाट महामारीलाई नियन्त्रण गर्न सफल भएका छन् । उनीहरुले बृहद परीक्षण, गुणस्तरीय स्वास्थ्य उपचारमा सजिलो पहुँच, आक्रामक कन्ट्याक्ट ट्रेसिङ (संक्रमितसँग सम्पर्कमा आएकाहरुको पहिचान) र सामाजिक जमघटमा कडा प्रतिबन्धलाई लागू गरेका थिए ।

ताइवानकी राष्ट्रपति त्साई इङ–वेन२.४ करोड जनता भएको ताइवानको जनसंख्या अस्ट्रेलिया कै हाराहारी रहेको छ । विश्व स्वास्थ्य संगठनको सदस्यसमेत नभएको यो राष्ट्र महामारीको ठूलो जोखिममा थियो । तर, जब ताइवानकी राष्ट्रपति त्साई इङ–वेनले गत वर्षको डिसेम्बरमा ऊहानमा रहस्यमय भाइरसले मानिसहरुलाई संक्रमित गरिरहेको समाचार सुनिन्, उनले तत्कालै ऊहानबाट आउने सबै विमानको जाँच गर्न आदेश दिइन् ।

उनले त्यसपछि महामारी कमान्ड केन्द्र स्थापना गरिन्, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र मास्कको उत्पादनमा वृद्धि गरिन् र चीन, हङकङ र मकाउको उडानमा प्रतिबन्ध लगाइन् ।

ताइवानले शुरुवाती चरणमा नै नियन्त्रणका आक्रामक उपायहरु अपनाउँदा देशमा हालसम्म ३९३ जनामात्र संक्रमित फेला परेका छन् भने ६ जनाले मात्र ज्यान गुमाएका छन् ।

जर्मन चान्सलर एन्जेला मर्केल

जर्मनीमा ८.३ करोड जनसंख्या छ । त्यहाँ १ लाख ३२ हजार संक्रमित छन् तर अन्य योरोपिन देशहरुको तुलनामा मृत्युदर निकै कम छ । महामारी नियन्त्रणमा खेलेका भूमिकाका कारण क्वान्टम केमेस्ट्रीमा विद्यावारिधी हासिल गरेकी जर्मन चान्सलर एन्जेला मर्केलको ‘एप्रुभल रेटिङ’ वृद्धि भएको छ । जर्मनीमा यतिबेला युरोपभर कै सबैभन्दा धेरै आइसीयू बेड र बृहद कोरोना परीक्षण कार्यक्रम रहेको छ ।

‘सायद सरकारको उच्च तहमा तर्कसंगत निर्णय क्षमता र जनताको सरकारप्रतिको विश्वास नै जर्मनीको सबैभन्दा ठूलो शक्ति हो जस्तो लाग्छ,’ हाइडलबर्गमा रहेको युनिभर्सिटी अस्पतालका भाइरोलोजी विभागका प्रमुख हान्स–जिओर्ग क्राउस्लीचले न्युयोर्क टाइम्ससँग कुराकानी गर्दै भनेका थिए ।

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेन

५० लाख जनसंख्या भएको न्युजिल्याण्ड पर्यटनमा आश्रित रहेको छ । तर, प्रधानमन्त्री जसिन्डा आर्डेनले मार्च १९ मा नै विदेशी आगन्तुकका लागि न्युजिल्याण्डको सीमा बन्द गरिन् भने मार्च २३ मा पूरै देशमा लकडाउन लागू गरिन् । त्यसपछि देशभर नै कोभिड–१९ को परीक्षण शुरु गरियो र १३ सय बढी संक्रमित फेला पारियो । अहिलेसम्म न्युजिल्याण्डमा मात्र ९ जनाले ज्यान गुमाएका छन् । अहिले देश लकडाउनको अवधिको मध्यतिर छ तर आर्डेन यो चाँडै अन्त्य नगरिने बताउँछिन् ।

नर्डिक देशहरु

फिनल्याण्डकी ३४ वर्षीया प्रधानमन्त्री सन्ना मरिन

पाँचमध्ये चार नर्डिक देशहरुमा महिलाको नेतृत्व रहेको छ । ती देशहरुमा युरोपका अन्य राष्ट्रहरुको तलुनामा कम मृत्युदर रहेका छन् । उदाहरणका लागि फिनल्याण्डकी ३४ वर्षीया प्रधानमन्त्री सन्ना मरिन विश्वकै युवा सरकार प्रमुख हुन् तर महामारीका लागि उनले गरेको तयारीका कारण उनको अप्रुभल रेटिङ ८५ प्रतिशत रहेको छ । ५५ लाख जनसंख्या भएको फिनल्याण्डमा हालसम्म ५९ जनाले ज्यान गुमाएका छन् ।

आइसल्याण्डकी प्रधानमन्त्री क्याट्रिन जाकोब्सडोटिर

आइसल्याण्डकी प्रधानमन्त्री क्याट्रिन जाकोब्सडोटिरले ३ लाख ६० हजार जनसंख्या भएको सानो देशको नेतृत्व गर्छिन् । त्यहाँ ठूलो संख्यामा गरिएको परीक्षणले विश्वका लागि नयाँ जानकारी पनि दिएको छ – ५० प्रतिशत कोरोनाभाइरस संक्रमितमा लक्षण नै देखिँदैन । आइसल्याण्डले पनि शुरुवाती चरणमा नै हस्तक्षेप गरेर संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको साथै संदिग्धलाई क्वारेन्टाइनमा राखेको थियो ।

पुरुषद्वारा नेतृत्व गरिएको एकमात्र नर्डिक देश स्वीडेनमा भने प्रधानमन्त्री स्टेफन लोफ्भेनले लकडाउनलाई अस्वीकार गर्दै स्कूल र व्यवसायलाई खुला राखेका छन् । त्यहाँ अन्य युरोपियन देशको तुलनामा त्यहाँ मृत्युदर निकै उच्च रहेको छ ।

सिन्ट मार्टिनकी प्रधानमन्त्री सिल्भेरिया ज्याकब्स

अन्य महिला राष्ट्रप्रमुखहरु पनि कोरोनाभाइरसविरुद्ध लिएको कठोर कदमका कारण चर्चामा छन् । सिन्ट मार्टिनकी प्रधानमन्त्री सिल्भेरिया ज्याकब्सले ४१ हजार जनसंख्या भएको सानो करेबियन टापुको नेतृत्व गछिन् । तर, दुई हप्तासम्म ‘हलचल नगर्नु’ भन्दै जनतालाई जारी गरेको भिडियो सन्देश निकै भाइरल बनेको थियो । ‘तपाईंहरुलाई मनपर्ने रोटी घरमा छैन भने क्र्याकर खानुहोस् । रोटी नै छैन भने ओट्स र सिरियल्स खानुहोस्,’ उनले कडा स्वरमा भनेकी थिइन् ।

नर्वेकी प्रधानमन्त्री इर्ना सोलवर्ग

नर्वेकी प्रधानमन्त्री इर्ना सोलवर्गले टेलिभिजन उपयोग गरेर देशका बालबालिकासँग प्रत्यक्ष संवाद चलाइन्। उनले जम्मा ३ मिनेटका पत्रकार सम्मेलन आयोजना गरिन्, जहाँ प्रौढलाई उपस्थित हुन अनुमति थिएन। उनले बालबालिकाका प्रश्नको सीधा उत्तर दिइन् र डर मान्न किन आवश्यक छ भनेर प्रस्ट्याइन्। यो आफैंमा नवीन तरिका थियो। सहानभूति र प्रत्यक्ष हेरचाहको यो प्रयासले काम पनि ग¥यो। लेटा होङ फिन्चरको सिएनएनमा प्रकाशित रिपोर्ट रातोपाटीबाट लिइएको हो ।

बुधबार, ०३ बैशाख, २०७७, साँझको ०५:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर