इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका स्थित जनता क्याम्पसमा रहेको क्वारेन्टाइनबाट भग्न खोज्ने एक भारतीय युवालाई पक्राउ गरी पुनः क्वारेन्टाइनमा फर्काइएको छ ।
क्वारेन्टाइनमा राखिएका एक भारतीय युवाले क्वारेन्टाइनबाट भाग्ने प्रयास गरेकोमा सुरक्षाको लागि खटिएको नेपाली सेनाले नियन्त्रणमा लिएको हो ।
बिहारको फारबिसगन्जबाट इटहरीमा फलफुल व्यवसाय गर्ने आमालाई भेट्न आएका उनलाई प्रहरीले इटहरी क्वारेन्टाइनमा लगेको थियो । २१ वर्षीय ती भारतीय युवा क्वारेन्टाइनबाट भागेको लगत्तै सुरक्षाको लागि खटिएको नेपाली सेनाले समातेर पुनः क्वारेन्टाइनमा नै राखेको छ ।
क्वारेन्टाइनमा गत आइतबार सुनसरीको बर्जुबाट ल्याइएका ११ भारतीयसहित १६ जनालाई राखिएको छ । तीमध्ये ११ भारतीयको स्वाब परिक्षणका लागि नमूना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इटहरी उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो ।
इटहरी अस्पतालमा मंगलबारबाट र्यापिड टेस्ट थालिएको छ । एक जना प्राविधिकले टेष्टको बिषेश तालिम लिएर आएपछि संक्रमणको शंका लागेका व्यक्तिहरुमा प्रारम्भिक टेष्ट हुने भएको हो ।
यसैबीच सुनसरीको हरिनगर गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका ३४ जनाको कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएको छ । भारतलगायतका अन्य मुलुकबाट आएकाको परीक्षणका क्रममा ३४ जनाको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश थापा मगरले जानकारी दिनुभयो ।
हरिनगर १ मा रहेको विजी अस्पतालको क्वारेनटाइनमा रहेका १५ जना र जामा मस्जिदमा रहेका १९ जना गरेर ३४ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।