संक्रमित भारतीय विराटनगर हुँदै गएका हुन् त ?

विराटनगर । कोरोनाको संक्रमण देखिएका पर्साको छप्कैयास्थित मक्की जामे मस्जिदमा बस्दै आएका तीनजना भारतीयको ट्राभल हिष्ट्री यकीन नहुँदा तराईमा त्रास फैलिएको छ ।

चार महिना अगाडि विराटनगरबाट नेपाल प्रवेश गरेको बताउने उनीहरुमा कोरोना कहाँबाट सर्‍यो भन्ने यकीन हुन नसक्दा त्रास बढेको हो ।

संक्रमित र उनको समूहका व्यक्तिले मोरङ, सुनसरी र सप्तरीमा घुमेको दाबी गरेपनि भारतबाटै कोरोना संक्रमित भएर आएको सरकारी अधिकारीहरुको अनुमान छ । पूर्वी तराईमा उनीहरु घुमेको दाबी प्रमाणित हुन बाँकी छ ।

संक्रमित तीनजना र उनीहरुको समूहमा रहेका विभिन्न व्यक्तिले दिएको बयान अनुसार संक्रमित तीन जनासहित १४ जनाको टोली डिसेम्बर १८ मा विराटनगरबाट नेपाल प्रवेश गरेर रानीस्थित मस्जिदमा बसेको थियो । उनीहरु डिसेम्बर २० देखि ३० सम्म सुनसरीको दुबहीस्थित जामे मस्जिदमा बसेका थिए ।

त्यसपछिको पछिल्लो तीन हप्ताको उनीहरुको भ्रमण विवरण खुलेको छैन । प्रहरीका अनुसार २१ मार्चमा अर्थात चैत ८ गतेदेखि १३ सम्म वीरगञ्ज १ छप्कैयाको मस्जिदमा एक साता बसेको भनिएको छ । त्यसपछि मार्च २६ तारेख (चैत १३) देखि उनीहरु वीरगञ्ज २ छपकैया प्रहरी बिटसँगै रहेको यतिम खाना दारुल यातमा ईस्लामिया मस्जिदमा बसेको देखिएको छ ।

मक्की जामे मस्जिदका शेख सकिल मियाँका अनुसार जनवरी १ देखि १३ फेब्रुअरीसम्म सुनसरीको इनरुवामा बसेर उनीहरु १४ फेब्रअरीमा सप्तरी निस्केका थिए । सप्तरीको बोदे बसाईन नगरपालिकामा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी भएर फेब्रुअरी १९ तारेखमा उनीहरु वीरगञ्ज आएका थिए । उनीहरु फेब्रअरी २० तारेखमा वीरगञ्जकै सुगौली गाउँस्थित मस्जिदमा गएका थिए । त्यहाँ रहेका ५÷६ वटा मस्जिदमा उनीहरुले एक महिना बिताएका थिए ।

मार्च २० गते उनीहरु वीरगञ्जकै मर्कजमा फर्केका थिए । मर्कजमा नेपाल र भारतका जमातीहरु भेला हुने गर्छन् । जमातीहरु घुम्ने क्रममा मस्जिदमा हुने धार्मिक प्रवचनहरुमा सहभागी हुने गरेका छन् ।

संक्रमितको बयान सत्य हो भने उनीहरुमा नेपालबाटै कोरोना संक्रमित भएको देखिन्छ । र यो अर्को तनावको विषय हुनेछ । किनभने, मोरङ, सुनसरी र सप्तरीमा यसचे चिन्ता बढाएको छ ।

कट्याक्ट ट्रेसिङ र ट्राभल हिस्ट्री संकलनका क्रममा संक्रमित व्यक्तिमध्ये एकजना जमाती समूहका र अर्का एक व्यक्ति रक्सौलको एटीएममा पैसा निकाल्न गएको तथ्य खुलेको छ । फ्रेबुअरी २६÷२७ मा उनीहरुमध्ये एकले भारतको रक्सौल गएर एटीएमबाट पैसा निकालेका थिए ।

छप्कैयाको मस्जिदमा बस्दै आएका तीन जनामा गत शनिबार कोरोनाको पोजेटिभ लक्षण देखिएको हो । दिल्ली फर्कने टिकटसमेत साथमा रहेका उनीहरुले आफूहरु केही महिनादेखि नै नेपालमा रहेको र सप्तरी, सुनसरी, मोरङतिर विभिन्न मस्जिदमा घुमेर वीरगञ्ज आइपुगेको बयान दिएका छन् ।

अन्य आधार नपाएसम्म उनीहरुकै बयानलाई विश्वास गर्नुपर्ने अवस्था रहेको स्थानीय प्रशासनले जनाएको छ । उनीहरुको बयानलाई विश्वास गर्दा नेपाली समुदायममै कोरोनाको संक्रमण भएको निश्कर्ष निस्कने भएकोले थप सतर्कता र परीक्षण विस्तार गर्नुपर्ने हुन्छ ।

संक्रमितहरु दिल्ली बस्ने ४५ बर्षीय, उत्तर प्रदेश वागपात बस्ने ५५ बर्षीय र दिल्लीकै ३७ बर्षीय व्यक्तिको चैत २७ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा थ्रोट स्बाव संकलन भएको थियो । पोजेटिभ रिपोर्ट आएपछि उनीहरुलाई वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

तीनैजना संक्रमितको कन्ट्याक्ट ट्रेसिङको काममा स्वास्थ्य मन्त्रालयले खटाएको टोली, नारायणी अस्पताल र जनस्वास्थ्य कार्यालयको टोली खटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायको संयुक्त टोली पनि सँगसँगै लागिपरेको छ । तर, यी तीनजना व्यक्तिहरुमा नेपालबाटै कोरोना सर्‍यो कि भारतबाट भन्ने स्पष्ट नहुँदा अन्यौल र त्रास छाएको छ ।

संक्रमितहरुमा भाइरस लोड अत्याधिक देखिएकाले संक्रमण भएको ५÷७ दिनमात्र भएको चिकित्सकहरुले बताएका छन् । उनीहरुले लामो समयदेखि नेपालमै रहेको र भारत नगएको बताएकोले त्रास बढेको हो । यद्यपी उनीहरुले स्पष्ट बयान नदिँदा र आफूहरुसँग मोवाइल पनि नभएको बताउँदा ट्रेसमा समस्या भइहरेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल केन्द्रका डा. शेरबहादुर पुनका अनुसार वीरगञ्ज नाकामा भारतीय नागरिकहरूको आवतजावत नरोकिएकाले पनि यो संक्रमण देखिएको हुन सक्छ । डा. पुनका अनुसार यो केसले अरू धेरै मानिसमा पनि संक्रमण भएको हुन सक्ने संकेत गर्छ ।

विशेषगरी भारतबाट लुकीछिपी नेपाल छिरेका नेपालीहरूको परीक्षण गर्नुपर्ने देखिएको छ । तर, लकडाउनको समयमा लुकीछिपी नेपालभारत नाका कति नेपाल प्रवेश गरे भन्ने तथ्यांक सरकारी निकायसँग नहुँदा समस्या देखिएको छ ।

मङ्गलबार, ०२ बैशाख, २०७७, बिहानको ०८:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर