लोड हुँदैछ...

मेनु

भीआईपी सुरक्षामा खटिएका प्रहरीलाई सीमामा परिचालन गर्न गृहमन्त्रीको निर्देशन

भीआईपी सुरक्षामा खटिएका प्रहरीलाई सीमामा परिचालन गर्न गृहमन्त्रीको निर्देशन

विराटनगर । खुला सीमानाको कारण भारतबाट कोरोनाको जोखिम बढ्दै गएपछि गृहमन्त्री रामबहादुर थापा बादलले भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गरी सीमा क्षेत्रमा खटाउन निर्देशन दिनुभएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या बढिरहेको र खुला सीमानाको कारण नेपालमा जोखिम बढेपछि सीमा क्षेत्रमा सुरक्षाकर्मी थप्न गृहमन्त्रीले निर्देशन दिनुभएको हो । यसअघि सीमामा झन्डै १५ किलोमिटरको दूरीमा सुरक्षा विन्दुहरू रहेकोमा अहिले त्यसलाई २ देखि ३ किलोमिटरमा झारिएको छ ।

सीमा सुरक्षा चुनौतिपूर्ण बनेको बेला नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका उनीहरुलाई फिर्ता बोलाएर सीमामा पठाउन गृहमन्त्री थापाले निर्देशन दिनुभएको हो । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई सोमबार बोलाएर गृहमन्त्री थापाले भीआईपी सुरक्षामा अनावश्यक रुपमा खटाइएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउन निर्देशन दिनुभएको हो ।

निर्देशनपछि प्रहरीले विशिष्ट सुरक्षा कार्यविधि विपरित खटिएका सुरक्षाकर्मीको तथ्यांक संकलन थालेको छ । अहिले २ हजार बढी सुरक्षाकर्मी विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका छन् । कतिपय विशिष्ट व्यक्तिले मन्त्रिपरिषदबाटै निर्णय गराएर कार्यविधि विपरित सुरक्षाकर्मी राखेका छन् । उनीहरुको हकमा मन्त्रिपरिषदबाटै निर्णय गरेर कटौती गरिने गृहमन्त्रीको तयारी छ ।

‘भीआईपी सुुरक्षामा परिचालित सुरक्षाकर्मी कटौती गरेर सीमामा पठाउनुस्’ गृहमन्त्रीको स्पष्ट निर्देशन छ । गृहमन्त्रीले पहाडी तथा हिमाली क्षेत्रमा रहेका सशस्त्र प्रहरीका कर्मचारीलाई पनि सीमामा खटाउन निर्देशन दिनुभएको उहाप्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो ।

अत्याश्वयक बाहेकका सुरक्षाकर्मीलाई सीमामा परिचालन गर्ने निर्णय गृहले गरिसकेको छ । तराईका जिल्लामा थप जनशक्ति पठाउन नेपाल प्रहरीलाई पनि गृहमन्त्री थापाले निर्देशन दिनुभएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सीमा क्षेत्रमा विशेष सतर्कता बढाउन लागिएको हो ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

krishna shrestha
April 14, 2020 1:07 PM

खुल्ला सिमानाको कारण नेपालबाट भारत र भारत बाट नेपाल लुकि छिपी कोरोना संक्रमित ब्यक्तीहरु आवत जावत सजिलै सँग गर्न सक्ने र भारतको भन्दा नेपालको जनसंख्या धेरै कम भएकोले भारतबाट भित्रिएका संक्रमित थोरै ब्यक्तिले नि बहुसंख्यक नेपालीलाई कोरोनाको महामारिमा धकेल्न सक्ने हुँदा भारत सरकार सँग अबिलम्ब सम्पर्क गरि नेपाल भारत सिमामा कर्फ्यु जारी गर्न जरुरी छ हैन भने नेपाल र नेपाली भबिष्य अन्धकारमय हुने निश्चित देखिन्छ ।

प्रतिक्रियाहरू बन्द छन्।