इनरुवा । पूर्वी नाका काँकरभिट्टाबाट तरकारीको गाडीमा लुकेर प्रवेश गरेका १४ जना भारतीयलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

काँकडभिट्टा नाकाबाट तरकारीको गाडीमा लुकेर आएका भारतीयलाई सुनसरीको इनरुवामा सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

आइतबार राति काँकडभिट्टा नाकाबाट तरकारी बोक्ने पिकअप भ्यानमा उनीहरु नेपाल प्रवेश गरेको खुलेको छ । कोशी व्यारेजतर्फ जाँदै गरेका उनीहरुलाई इनरुवा ३ सखुवागाछीबाट सुरक्षामा खटिएका प्रहरीले नियन्त्रणमा लिएका हुन् ।

इनरुवा ट्राफिक प्रहरी चौकीका प्रहरी नायव निरिक्षक पुष्पक निरौलाका अनुसार विहान २ बजेको समयमा आएको पिकअप भ्यानलाई चेककजाँच गर्ने क्रममा त्रिपालले छोपेको अवस्थामा उनीहरुलाई फेला पारिएको हो । भ्यान चालकले तरकारी रहेको बताएपनि प्रहरीलाई शंका लागि चेंकजाँच गर्दा १४ जना भारतीय फेला परेका हुन् ।

मोरङ्गको सुन्दर हरैचा नगरपालिका ७ घर भएका सवारी चालक शम्भु विश्वकर्माले कोशी व्यारेजसम्म जानका लागि उनीहरुले पिकअपप रिर्जभ गरेको बताएका छन् । उनीहरुलाई लिएर आएको पिकअप भ्यानलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले स्कर्टिङ गरेर काँकडभिट्टातर्फ नै फिर्ता पठाईदिएको छ ।

भारतको दरभंगा घर भएको बताउने भारतीय नागरिकहरु भारतमा लकडाउनका कारण सवारीसाधनहरु बन्द भएकाले काकँडभिट्टा नाकाबाट प्रवेश गरेका थिए । उनीहरुले कोशी व्यारेजको बाटोबाट भारत जान हिँडेको बताएका छन् ।