काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा बागलुङमा जारी र्यापिड डाइगोनोस्टिक टेष्टमा पोजेटिभ देखिएकी महिलाको प्रयोगशाला टेष्टमा नेगेटिभ देखिएको छ ।
आइतबार ५७ जनाको स्वाब परीक्षणका क्रममा काठेखोला–६ की ६५ वर्षीया महिलालाई कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो।
र्यापिड टेष्टका क्रममा पोजेटिभ देखिएपछि उनको स्वाब थप परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको थियो। पोखरामा पिसिआर मेसिनमार्फत गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो।
आइतबार नै स्वाब टेष्टका लागि पोखरा पठाएको र रिपोर्ट सोमबार दिउँसो आएको बताइएको छ । र्यापिड टेष्टमा गरिने परीक्षण ६० प्रतिशत मात्र विश्वसनीय हुने भन्दै उहाँले र्यापिड टेष्ट गर्दा पोजेटिभ देखिए पिसिआर मेसिनबाट टेष्ट गरेपछि मात्र भेरिफाई हुने बताउनुभयो ।
ती महिला लकडाउनअघि तीर्थयात्राका लागि भारत पुगेर फर्केकी थिइन्। उनको र्यापिड टेष्टमा पोजेटिभ रिपोर्ट आएपछि क्वारेन्टिनमा राखिएको थियो।
उता कैलालीमा भने र्यापिड टेष्टमा नेगेटिभ देखिएको एक महिलाको नमुना पिसिआर टेष्टमा पोजेटिभ आएको छ । विरगञ्जबाट कैलाली पुगेकी महिलाको र्यापिड टेष्ट गर्दा नेगेटिभ देखिएपछि क्वारेन्टाइनबाट घर पठाइएकोमा प्रयोगशालामा टेष्ट गर्दा पोजेटिभ नतिजा आएपछि सोमबार सेती अस्पतालमा भर्ना गरिएको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।