सुनसरीमा थप ११ पाकिस्तानी मस्जिदकै क्वारेन्टाइनमा

इटहरी । सुनसरीको एक मस्जिदमा फेरि ११ जना पाकिस्तानी नागरिक भेटिएका छन् ।

गत फागुन २४ गते धर्म प्रचारको लागि काठमाडौं हुँदै सुनसरी प्रवेश गरेका उनीहरु बसेको दुहवी–१ स्थित जामे मस्जिदमै क्वारेन्टाइनमा राखिएको सुनसरी प्रहरीले जनाएको छ ।

लकडाउन सुरु हुनु अगाडि नै मस्जिदमा आश्रय लिएर बसेका मो. नवाज भुट्टो, मो. सम्भान, फौजान अलि, नजामुदीन, मक्स्युद अहमद, महमद बुक्स, महमद सव्भान, जाहिर हुसैन, ड्याड मो. चाचर, मो. रमजान, जाहुर अहमदलाई स्थानीय मोहमद रामजान मियाको निगरानीमा जामे मस्जिदमा राखिएको छ । उनीहरुमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कुनैपनि लक्षण नदेखिएकाले मस्जिदभित्रै सुरक्षित रुपमा क्वारेन्टाईनमा राखिएको हो ।

पाकिस्तानबाट फाल्गुण २४ गते नेपाल भित्रिएका उनीहरु फाल्गुण २५ गतेदेखि २९ गतेसम्म दाङको घोराहीमा बसेर फागुन ३० देखि चैत्र ८ गतेसम्म तुल्सीपुरमा बसोबास गरेको र चैत्र १० गते सुनसरी आएको खुलेको इलाका प्रहरी कार्यलय दुहवीले जनाएको छ । इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक प्रविण कार्कीका अनुसार उनीहरुलाई प्रहरीले निगरानी गरिरहेको छ ।

यसअघि सुनसरीको हरिनगर गाउँपालिका १ स्थित जामिया मस्जिदमा मरकजमा १४ जना भारतीय र इटहरी १८ स्थित जतपुर मस्जिदमा ८ जना पाकिस्तानीलाई भेटेपछि स्वास्थ्य जाँच गरी निगरानीमा राखिएको छ । उनीहरुमध्ये केही चोर बाटोबाट लकडाउनको समयमा नेपाल छिरेको बताइएको छ।

कोरोना भाइरसको संक्रमण सुरु भए पश्चात पछिल्लो एक महिनाको अवधिमा चार सय बढी सुनसरी भित्रिएको प्रशासनको भनाइ छ । जसमध्ये तेस्रो मुलुकबाट आउनेको संख्या १७ जना छ भने भारतबाट आएकाको संख्या ३ सय ९३ रहेको छ ।

भारतबाट भित्रिएको संख्यालाई सुनसरी प्रशासनले रोजगारीका क्रममा रहेकाहरु घर फर्किएको भनेको छ । प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार सुनसरी भित्रिएका मध्ये २ सय ५२ जना चिकित्सकको निगरानीमा होम क्वारेन्टाइनमा छन् ।

प्रशासनले सप्तरीको मुस्लिम सभाताका सहभागि हुन आएका केही पाकिस्तानी नागरिक त्यसयता यतै रहेको र उनीहरु सबैको अवस्थासमेत सामान्य रहेको जनाएको छ । सुनसरीमा पछिल्लो अवस्था सम्ममा शंकास्पद मानिएका ४० जनाको स्वाब टेस्ट गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।

बुधबार, २६ चैत, २०७६, साँझको ०६:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर