विराटनगर । प्रदेश १ मा कोरोना भाइरसको संक्रमणको आशंकामा आइसोलेसनमा बसेका ११ जना डिस्चार्ज भएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ का अनुसार सोमबारसम्म ५ महिला र ६ जना पुरुष डिस्चार्ज भएका छन् भने अहिले १५ जनालाई राखिएको छ ।
सरकारले प्रदेशभरी विभिन्न अस्पतालमा ४ सय ३८ आईसोलेसन बेड तयार गरेको छ । यसैगरी ४ हजार ३७ वटा क्वारेन्टाइन बेड तयार भएका छन् भने संक्रमित उपचार गर्न ४४ आईसियू बेड तयारी अवस्थामा छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको कोरोना सूचना डेस्कका अनुसार प्रदेश १ मा अहिलेसम्म कसैलाई पनि आईसियूमा राखेर उपचार गर्नु परेको छैन । सूचना डेस्कले दिएको जानकारी अनुसार सोमबारसम्म क्वारेन्टाइनमा ४४ महिला र ५ सय ६६ पुरुषसहित जम्मा ६ सय १० जनालाई राखिएको छ । होम क्वारेन्टाइनमा बस्नेको संख्या ५ सय ३८ महिला र २ हजार ३ सय ९ पुरुष गरी जम्मा २ हजार ८ सय ४७ रहेको छ ।
प्रदेश १ मा हालसम्म ८५ जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षण गरिएको छ । तीमध्ये ६९ जनालाई कोरोना नभएको पुष्टि भएको छ । बाँकीको रिर्पोट आउने क्रममा रहेको छ ।
स्वाब परीक्षण गरिएकामा १८ महिला र ५१ पुरुषको रिर्पोट आएको हो । परीक्षणका लागि १९ महिला र ६६ पुरुषको स्वाब नमूना धरान पठाइएको छ । प्रदेश १ मा बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानबाट कोरोना संक्रमणको परीक्षण भइरहेको छ ।