बिपी प्रतिष्ठानसँग धरानका मेयरले चन्दा मागेपछि…

धरान । सुनसरीको धरान उपमहानगरपालिकाले कोराना भाइरस विरुद्धको अभियानमा स्थापना गरेको कोषमा रकम उलब्ध गराईदिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पत्र लेखेको छ ।

धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले प्रतिष्ठानको नाममा पत्र नै लेखेर राहत कार्यक्रमको लागि भन्दै आर्थिक सहयोग मागेपछि त्यसको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिष्ठान प्रदेश १ मा कोरोना भाइरसको परीक्षण हुने अस्पताल हो । यस्तै सरकारले प्रतिष्ठानलाई कोरोनाको उपचार गर्ने अस्पतालको रुपमा तोकेको छ । स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमितको उपचारको लागि थप प्रोत्साहन र सुरक्षा उपकरण उपलब्ध गराउनुपर्ने आवाज उठिरहेको बेला स्थानीय सरकारले चन्दा मागेपछि आलोचना भएको हो ।

कोरोना भाइरसको जोखिमको कारण लकडाउन गर्दा समस्यामा परेकाहरुलाई राहत उपलब्ध गराउन आर्थिक सहयोग मागरेको पत्रमा उल्लेख छ । पत्रमा तोकेरै प्रतिष्ठानका पदाधिकारीको १५ दिनको र कर्मचारीको १० दिनको तलब सहयोग गर्न भनिएको छ ।

उपमहानगर प्रमुख तिलक रार्इले आफैं हस्ताक्षर गरेको पत्रमा दैनिक ज्याला मजदुरी गरिखानेको लागि राहत दिनुपर्ने भएकोले आर्थिक सहयोग गर्ने भनिएको छ। सोमबार पठाइएको चलानी नं. ६००२ रहेको पत्रमा उपमहानगरका पदाधिकारीले पनि १५ दिनको पारिश्रमिक कोषमा उपलब्ध गराएकोले प्रतिष्ठानले पनि सहयोग गर्नुपर्ने जनाइएको छ ।

प्रतिष्ठानका कार्यबाहक उपकुलपति गुरु खनालले स्वेच्छाले सहयोग गर्न सकिने भएपनि प्रतिष्ठानले स्वास्थ्यकर्मीसँग यो समयमा आह्वान नगर्ने बताउनुभएको छ ।

सोमबार, २४ चैत, २०७६, साँझको ०६:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर