विर्तामोड । प्लाष्टिक संकलन गरेर गुजारा चलाउने झापाको कन्काई नगरपालिका ३ मा सामुदायिक बनको जग्गामा छाप्रो हालेर बस्ने ५० वर्षीय ठाकुरसिंह राई लकडाउनको कारण सबैतिर ठप्प भएपछि शुक्रबार वडा कार्यालयमा गएर राहत बुझे । लकडाउनको कारण समस्यामा परेकाहरुलाई नगरपालिकाले राहत वितरण थालेपछि राहत बुझेका उनको घरमा शनिबार आगलागी भयो ।
सामुदायिक वनको छेउमा बाँसको टाटीले बेरेको फुसको छाप्रो आगलागी भएपछि उद्धारमा गएकाहरु चकित हुने घटना देखियो । कबाडी संकलन गरेर गुजारा चलाउने उनको घरभित्र २५ लाख हाराहारीमा नगद भेटिएपछि सबै अचम्मित भएका थिए ।
छाप्रोमा लागेको आयोपछि पुगेका स्थानीय र प्रहरीले घरभित्र रहेका सामान बाहिर निकाल्ने क्रममा बाकसभित्र राखिएको नोटको बण्डल भेटेका थिए । रकम आफ्नै भएको राईले दावी गरेपनि प्रहरीले शंका लागेर सबै पैसा प्रहरी कार्यालयमा लिएर गयो ।
इलाका प्रहरीका कार्यालय, सुरुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) पदम लिम्बुका अनुसार बाल्टी र बाकस मुनि राखिएको ९ लाख रुपैयाँ सग्लै भेटिएको थियो । त्यस्तै आधा जलेका पुराना नोट ५ देखि ६ लाख रुपैयाँ पनि भेटिएको छ ।
जलेका नोट पनि साटिने अवस्थामा छन् । राईले भने करिब २५ लाख आपूmसँग भएको बताउँदै आएका छन् । धेरै नोटहरु जलेकाले उनको दाबी सहि नै हुनसक्ने देखिएको छ । सामान्य मजदुरको घरभित्र गाडेको अवस्थामा ठूलो रकम भेटिएपछि अनुसन्धान थालेको प्रहरीले सो रकम उनकै भएको आधार भेटेको छ ।
राईको घरमा भेटिएको रकम अवैध हुनसक्ने धेरैले अनुमान गरेका थिए । तर, अनुसन्धानका क्रममा राईले राखेको पैसाको स्रोत पुष्टि भएको प्रहरीले जनाएको छ ।
झापाकै बाह्रदशीमा घर भएका राई परिवारसँग झगडा भएपछि २०४५ सालमा सुकेडाँगी आएको र केही समयमै भारत बसेर २०५४ सालमा २ लाख रुपैयाँ लिएर सुरुङ्गामा फर्किएको खुलेको छ । त्यो पैसाले उनले झिलघिलेमा एक कठ्ठा ६ धुर जग्गा जोडेकोमा २०६१ सालमा १२ लाख ६० हजार रुपैयाँमा बेचेका थिए ।
जग्गा बेचेर आएको पैसा विभिन्न व्यक्तिलाई ब्याजमा दिएर आम्दानी गरेको राईको भनाई छ । नाङ्लो र डोको बुन्ने, खुर्सानीको धुलो बनाउनेदेखि कवाडी संकलनको काम गर्ने उनले कनकाई माई नदीको तटबाट पानी र रेडबुलका बोतलहरुसमेत संकलन गर्ने गरेका छन् ।
संकलित रकम अहिलेसम्म घरभित्रै राख्दै आएको उनले बताएका छन् । सुरुवातमा प्रहरीले उनको भनाई विश्वास नगरेको भएपनि उनीबाट ऋण लिएका बाह्रदशी र शिवगञ्जका व्यक्तिहरुसँग प्रहरीले सम्पर्क गर्दा उनको भनाई सत्य देखिएको हो ।
भेटिएका अधिकांश पैसा राजाका तस्वीर भएका पुराना भएकोले उनले पहिल्यैदेखि ती रकम जम्मा गरेर राखेको देखिएको छ । प्रहरीले भने घटनाको अझै अनुसन्धान भइरहेको जनाएको छ । लिलाराज झापालीको सहयोगमा