घरमा आगलागीपछि निभाउन गएका उद्धारकर्ता लाखौं नगद भेटेपछि चकित
विर्तामोड । कोरोना भाइरसको जोखिम कम गर्न सरकारले लकडाउन लगाएको धेरै विपन्न र ज्यालामजदुरी गर्ने नागरिकहरु समस्यामा परेका छन् । उनीहरुलाई लक्षित गरेर स्थानीय सरकारले राहत वितरण पनि थालेका छन् ।
झापाको कनकाई नगरपालिका –४ सुरुङ्गामा पनि नगरपालिकाले राहत वितरण गरिरहेको छ । कनकाई ४ को सुकुम्बासी वस्तीमा बसोवास गर्ने ५१ वर्षीय ठाकुरसिंह राईलाई नगरपालिकाले राहत उपलब्ध गराएको थियो ।
उनै राईको घरमा करिब ५० लाख रुपैयाँ फेला परेपछि सबै चकित बनेका छन् । शनिबार राति सामुदायिक बनको हातमा रहेको राईको घरमा आगलागी भएपछि आगो निभाउन गएका स्थानीयले नगर फेला पारेका हुन् । आगलागीमा कतिपय नोट जलेको भएपनि नम्बर भएकोले साट्न मिल्ने अवस्थामा छन् ।
प्लाष्टिक टिपेर गुजारा चलाउने राईले शुक्रबार मात्र लिएको राहत पनि जलेकोले पुनः राहत उपलब्ध गराउनेबारे जनप्रतिनिधिहरुले छलफल गरिरहेको बेला कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओलीले राईको घरमा गाडिएको एउटा ठुलो टिनको वाकस निकाल्नुभएको थियो । बाकसमा हजार र पाँच सय दरका नोटको बिटैबिटा थियो । भेटिएको रकम मात्रै ९ लाख रुपैयाँ सग्लो रहेको र ६ लाख रुपैयाँ केही जलेको भएपनि साट्नमिल्ने अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
राईका अनुसार घरमा २४ लाख ५० हजार भन्दा बढी नगद, डेढ तोला सुन र १८ तोला चाँदी रहेको थियो । प्रहरी, रेडक्रसकर्मी, सामुदायिक वनका पदाधिकारी लगायतले सो रकम र १८ तोला चाँदी फेला पारेका थिए । बरामद रकम इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको छ ।
जनप्रतिनिधि, प्रहरी र रेडक्रसकर्मीलाई राईको घरमा फेला परेको पैसा गन्न ३ घण्टा लागेको थियो । राईले आफूले सो रकम आफ्नो जग्गा विक्रीबाट १२ लाख र त्यही रकमलाई गाउँमा ब्याजमा लगाएर जम्मा गरेको बताएका छन् ।
प्रहरीले रकमको स्रोत खोज्ने काम गरिरहेको जनाएको छ । कनकाई सामुदायिक वन क्षेत्र हाताभित्र रहेको घरमा आगलागी हुँदा राईसहित अन्य दुई घर अमृता श्रेष्ठ र झकडबहादुर दर्जी समेतको घर जलेको थियो । आगो राईको घरबाट सुरु भएको थियो ।
राईले शुक्रबार मात्रै कनकाई नगरपालिका ४ नम्बर वार्ड कार्यालयबाट कोरोना विपतको राहत बुझेका थिए । उनले बुझेर ल्याएको राहतसमेत आगलागीमा जलेको छ ।
बजारमा फालिएका प्लाष्ट्रिकका वोटल टिपेर गुजारा गर्ने गरेका राई यतिधेरै रकम कसरी आयो भन्नेमा सबै चकित छन् । उनी सामुदायिक वनको जमिनमा सुकुम्बासीका रुपमा बसोबास गर्दै आएका थिए ।
लकडाउनका कारण बजारमा प्लाष्ट्रिकको बोटल खोज्न नपाएको भनेकाले आफूहरुले वार्डवाट राहत दिएको वडा कार्यालयले जनाएको छ । राई लगायातको घरमा लागेको आगो नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवाशी मिलेर नियन्त्रणमा लिइएको थियो ।
लिलाराज झापालीबाट