दुहबी । सुनसरीको दुहबी ९ स्थित छातावेलीमा रहेको जयबाबा इँटा उद्योग लकडाउनको समयमा पनि सञ्चालन गरेको भन्दै विवाद उत्पन्न भएपछि आइतबार झडप भएको छ ।
स्थानीय दुई समुहबीचको विवादले उग्ररुप लिएपसिछ बिहान ८ बजे झडप हुँदा १३ जना घाइते भएका छन् ।
घाइते ताबिज मियाँले लकडाउनकै बेला जयबाबा इँटा उद्योग संचालन हुँदा उद्योगमा कार्यरत भारतीय मजदुरहरु गाउँ घुम्ने गरेकोले जोखिम बढेको बताउनुभयो । सो सूचना प्रहरी र संचारकर्मीहरुलाइ दिएको भन्दै दुहबी ९ का वडाध्यक्ष मेंहदी हुसैनको निर्देशनमा आफूहरुमाथि आक्रमण गरेको उहाँको दावी छ ।
घरमा बसिरहेका बेला दुहबी ९ का वडाध्यक्षले तिमिहरुसँग काम छ भन्दै बोलाएपछि कुरा गर्न जाँदा इँटा उद्योग संचालन गरेको सूचना किन बाहिर दिएको भन्दै हुसैनकै समूहले कुटपिट गरेको मियाँको भनाइ छ । देश लकडाउन भएको बेला पनि इँटा उद्योग संचालन भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए ।
स्थानीय ताबिज मिया र सौकत अलीले ५ सयको संख्यामा इँटा उद्योगमा काम गर्ने पश्चिम बंगालका भारतीय मजदुरहरु किनमेल गर्ने बाहानामा गाउँ घुम्ने गरेको र तीनीहरुमध्ये केही लकडाउनको केही दिन अगाडि मात्र भारतबाट आएको बताएका छन् । देश लकडाउन हुँदा पनि भारतीय मजदुहरु गाउँ घुम्ने गरेपछि स्थानीय त्रसित भएका थिए ।
दुहवी ९ छातावेलीमा दुई पक्षबीच भएको झडपमा एक प्रहरीसहित एक दर्जन युवा घाइते भएको दुहबी प्रहरीले जानकारी दिएको छ । प्रहरी जवान अनिल यादव घाइते छन् । इलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक प्रबिण कार्कीका अनुसार घाइतेको अवस्था सामान्य छ ।
घाइतेहरुको अहिले दुहबी स्थित सुनसरी सामुदायिक अस्पताल र जीबनज्योति पोलिक्लिनिकमा उपचार भैरहेको छ । वडाध्यक्ष हुसैनले भने आफुले कसैलाइ हातपात नगरेको र कोही कसैलाई निर्देशनसमेत नदिएको बताउँदै राहतको विषयलाई लिएर स्थानीयहरुबीच झडप भएको जानकारी आएपछि प्रहरीलाई खबर गरेको बताउनुभयो ।
दुहबी ९ छाताबेली मदरसाका प्रमुख मोल्बी (धर्मगुरु) मो.मोलिमले भने राहतको बिषयमा कुनै झडप नभएको बताउँदै झडप भएको २ घन्टापछि वितरण गरिएको जानकारी दिनुभयो ।