काठमाडौं । सरकारले एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाउने निर्णय गर्दै लकडाउनमा थप कडाइ गर्ने भएको छ ।
मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।
कोरोना भाइरसको जोखिम कम गर्न सरकारले चैत ११ गतेबाट मुलुकभर लकडाउन गरिरहेको छ । पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गतेसम्म लम्ब्याइएको छ ।
सरकारका प्रवक्ता युवराज खतिवडाले लकडाउनको समय थप गर्नेबारे अर्को बैठकमा निर्णय हुने जानकारी दिँदै कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस .(कोभिड–१९ं) को र्यापिड टेष्ट गर्ने निर्णय भएको बताउनुभयो । सुदुरपश्चिममा स्थानीयमा संक्रमण देखिएको र बाग्लुङमा २ जना संक्रमित पाइएकोले सरकारले र्यापिड टेष्ट गर्ने निर्णय गरेको हो ।
सरकारले स्वास्थ्यकर्मीलाई बिमा, प्रोत्साहन भत्तासँगै स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाका उपकरण प्रोटोकलका आधारमा उपलब्ध गराउने निर्णय गर्दै स्वास्थ्यकर्मीको सुरक्षामा आँच पुर्याउन खोज्नेलाई कानुनबमोजिम कडा कारबाही गर्ने निर्णयसमेत गरेको छ ।
यसैबीच सरकारले फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन गर्ने समितिको विज्ञ व्यक्तिकोरुपमा रविन्द्र भट्टराई र कुन्साङ लामा तथा अपराध पीडित संरक्षण समितिमा डा शंकर श्रेष्ठलाई नियुक्त गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।