राष्ट्रपतिको देशबासीलाई सम्बोधन

सबैभन्दा जोखिमयुक्त अग्रमोर्चामा रहेर काम गर्ने डाक्टर, नर्स, समग्र स्वास्थ्यकर्मीहरू लगायत सम्पूर्ण राष्ट्रसेवकहरुको धैर्यताको उच्च सम्मान

विराटनगर । कोरोना भाइरसले विश्व आक्रान्त भइरहेका बेला नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले देशवासीलाई सम्बोधन गर्दै मानव जातीले अकल्पनीय अवस्था व्यहोर्नु परिरहेको बताउनु भएको छ ।

नेपाल टेलिभिजन र रेडियो नेपालबाट आज साँझ कोरोना भाइरस रोकथामलगायत विषयमा देशवासीलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले नै नेपालमा यो सीमित रहन गएको बताउनु भएको छ ।

उहाँले अझै पनि सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैले स्वास्थ्यमा आवश्यक ध्यान दिनुपर्ने, कुनै भावनामा बगेर होइन बरु यस रोगको गम्भीरतालाई मनन गर्दै रोगको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदमलाई साथ दिनुपर्नेमा जोड दिनुभएको छ ।

लकडाउनले गर्दा दैनिक जीवनमा केही अप्ठ्याराहरू सिर्जना भएपनि सबैले आफ्नो मात्र होइन, आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउन लकडाउनका बेलामा संयमित भएर घर बाहिर निस्कन नहुने राष्ट्रपति भण्डारीको सम्बोधनमा उल्लेख छ ।

पूरै देश लकडाउन गर्नुपर्ने परिस्थितिले अर्थतन्त्रलाई पनि प्रतिकूल प्रभाव पारेको बताउँदै राष्ट्रपति भण्डारीले सम्पूर्ण उद्योगधन्दा र व्यापार व्यवसायलाई नकारात्मक असर पुर्‍याएको, दैनिक ज्यालादारीबाट आफ्नो जीवनयापन गर्ने श्रमजीवीहरू सबैभन्दा बढी प्रभावित हुने अवस्था उत्पन्न भएको बताउनु भएको छ ।

राष्ट्रपति भण्डारीले नेपालीहरू जो जहाँ भएपनि यथास्थानमा रहेर कोरोना विरुद्धको लडाईँलाई सफल पार्न योगदान गर्ने विश्वास लिएको बताउँदै कोरोना भाइरसको संक्रमणबाट बचाउन सम्बन्धित देशले देखाएको तत्परताका लागि म सबै मित्रराष्ट्रहरूप्रति आभार व्यक्त पनि गर्नुभएको छ ।

महामारीको बेलामा सबैभन्दा जोखिमयुक्त अग्रमोर्चामा रहेर काम गर्ने डाक्टर, नर्स, समग्र स्वास्थ्यकर्मीहरू लगायत सम्पूर्ण राष्ट्रसेवकहरुको धैर्यताको उच्च सम्मान गर्दै राष्ट्रपतिले सम्त्रोधनका क्रममा उहाँहरुको साथमा राज्य छ र आमजनताको गहिरो शुभेच्छा सधैँ रहिरहने विश्वास व्यक्त गर्नुभएको छ ।

शुक्रबार, २१ चैत, २०७६, रातीको ०८:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर