काठमाडौं । कास्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापित ल्याबले कोरोना पोजेटिभ देखाएको एक व्यक्तिको रिपोर्ट काठमाडौंको टेकु स्थित जनस्वास्थ्य प्रयोगशालामा नेगेटिभ देखिएको छ ।
भारतबाट आएका कास्कीका एक व्यक्तिमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको जानकारी गण्डकी प्रदेश सरकारले शुक्रबार दिएकोमा स्वास्थ्य मन्त्रालयले त्यसलाई अस्वीकार गरेको छ ।
गण्डकी प्रदेश सरकारले पोखराको ल्याबमा परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप परीक्षणको लागि काठमाडौंको ल्याबमा ती व्यक्तिको स्वाब पठाएको जनाएको थियो । पोखराको रिपोर्ट आएपछ िगण्डकी प्रदेश सरकारले आफ्नो वेबसाइडमा पनि नेपालमा कोरोना संक्रमित ७ जना भएको विवरण दिएको थियो ।
तर, अपरान्ह काठमाडौंमा आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नयाँ कोरोना संक्रमित नथपिएको बताउनुभयो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पनि काठमाडौंको नतिजा नेगेटिभ आएपछि कोरोना संक्रमित पुष्टि नभएको जनाएको छ।
डा.देवकोटाले पोखराको कोरोना परीक्षण ल्याबको मेसिन भर्खर जडान गरिएकाले उसले अहिले नै दिने पोजेटिभ या नेगेटिभ रिपोर्टलाई पत्याउन नसकिने बताउनुभयो । पोखराको ल्याबमा गरिएको परीक्षणमा पोजेटिभ देखिए पनि स्वास्थ्य मन्त्रालयले नयाँ मेसिनको परीक्षण नै पूरा नभएको भन्दै उक्त रिपोर्टलाई इन्कार गरिदिएको हो।
निश्चित समयसम्म परीक्षण पूरा नभइ काठमाडौं बाहिरको ल्याबमा गरिएको परीक्षण रिपोर्टलाई मान्न नसकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । केही नमूनाहरुको एक पटक पुनः टेकुस्थित प्रयोगशालामा परीक्षण गरेपछि मात्र मेसिनको नतिजाबारे स्पष्ट हुन सकिने डा. देवकोटाको भनाइ छ ।
‘नयाँ मेसिनले दिने रिपोर्टलाई तत्कालै आधिकारिक मान्न सकिँदैन’ उहाँले भन्नुभयो, ‘केही संख्याको परीक्षण एथेष्टरुपमा आएर अन्त पनि प्रमाणित भएपछि हामी त्यसलाई मान्यता दिन्छौँ ।’