विराटनगर । नेपालमा कोरोनाका सातौं संक्रमित कास्कीमा पहिचान भएको छ ।
कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ ।
गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङ पहिलो रिपोर्ट पोजेटिभ आएपछि थप परीक्षणका लागि टेकु पठाइएको जानकारी दिनुभयो । टेकुको रिपोर्ट आएपछि मात्र आधिकारिकता हुने उहाँको भनाइ छ ।
अहिलेसम्म फेला परेका ६ जना संक्रमित तेस्रो मुलुकबाट आएका थिए । अहिले भारतबाट आएका व्यक्तिमा पनि कोरोनाको संक्रमण भेटिएपछि नेपालमा थप जोखिम देखिएको छ ।
बिहीबार मात्रै बागलुङकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको थियो। उनी नेपालमा कोरोना भेटिने छैटौं व्यक्ति थिइन्।