काठमाडौं । विवादास्पद ओम्नी समूहसँग भएको स्वास्थ्य उपकरण खरिद सम्झौता सरकारले रद्द गरेको छ ।
महंगो मूल्यमा र गुणस्तरहिन सामान ल्याएको भन्दै आलोचना भइरहेको बेला स्वास्थ्य सेवा विभागले उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ ।
कोरोना भाइरसको संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार सरकारले नेपाल एयरलाइन्सको विमान पठाएर आइतबार केही सामान ल्याएको थियो ।
विभागका महानिर्देशक श्रेष्ठले पनि मन्त्रालय बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरिएको स्वीकार गर्दै ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय भएको बताउनुभयो । पहिलो खेपमा ल्याउनुपर्ने सामानमध्ये जम्मा १० प्रतिशत मात्र आएको उहाँको भनाइ छ । पहिलो पटक १ लाख सेट पीपीई आउनुपर्नेमा १० हजार थान मात्र आएको छ ।
तेस्रो लटमा ल्याउनुपर्ने ७५ हजार थान र्यापिड टेष्ट किट भने ५० हजार थान पहिलो लटमै ओम्नीले ल्याएको थियो । उक्त किट प्रयोगका लागि अयोग्य भएको विषय बाहिर आएपछि त्यसको प्रयोग नहुने निर्णय भइसकेको छ ।
सरकारले ओम्नीसँगको सम्झौता रद्द गर्ने र ओम्नी समूहलाई कालोसूचीमा राख्न आग्रह गर्ने निर्णय गरेको छ । अब विभागले नयाँ खरिद प्रक्रिया सुरु गर्ने जनाएको छ । तीन दिन मात्र समय दिएर भोलि प्रस्ताव आह्वान गर्ने निर्णय भएको विभागका महानिर्देशक श्रेष्ठले बताउनुभयो ।