विर्तामोड । भारतमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम बढेपछि पश्चिम बंगाल सरकारले पनि एक साताका लागि ‘लकडाउन’ को घोषणा गरेको छ ।
प्राप्त सरकारले सोमबार विहान ५ बजेदेखि २७ मार्चसम्म लकडाउनको घोषणा गरेको हो । यस अवधिमा राज्यमा सबै यातायात, हाटबजार, अफिस, कलकारखाना बन्द रहने जनाइएको छ ।
लकडाउनको समयमा अतिआवश्यक पिउनेपानी, बैंक, टेलिफोन, इन्टरनेट, खाद्य, सब्जी, राशन दोकान, अस्पताल, स्वास्थ्य केन्द्र, औषधि दोकान, विद्युत् सेवा खुल्ला रहने जनाइएको छ । राज्यका सबै नागरिकलाई लकडाउन अवधि घरभित्र रहन राज्य सरकारले आग्रहसमेत गरेको छ ।
राज्यको सिलगढी, दार्जिलिङ, खरसाङ, कालिबुङ, कुचबिहार, अलिपुरद्वारा, जलपाइगढी, उत्तरदिनाजपुर, दक्षिण दिनाजपुर र मालदा लगायतको जिल्लामा राज्य सरकारले लकडाउनको घोषणा गरेको छ । हालसम्म कोरोना भाइरसको संक्रमणले गर्दा भारतमा ७ जनाको मृत्यु भइसकेको छ ।
यता कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्ने उद्देश्यले प्रधानमन्त्री नरेन्द्र मोदीको अपिलमा आइतबार एक दिन जनता कर्फ्यु गरिएको थियो ।