विराटनगर । कोरोना भाइरस संक्रमणको त्रास फैलिएपछि सीमावर्ती जोगबनीबाट चैत महिनामा मात्र एक लाखभन्दा बढी नेपाल भित्रिएका छन् ।
रानी नाकामा राखिएको तथ्यांकअनुसार १ चैतदेखि १० चैतसम्म १ लाख १ हजार स्वास्थ्य परीक्षण गरी नेपाल प्रवेश गरेको तथ्यांक छ ।
स्वास्थ्य परीक्षण नगरी भित्रिनेको संख्या पनि ठूलो छ । प्रदेश सरकार र विराटनगर महानगरपालिकाले सीमामा राखेको हेल्थ डेस्क हुँदै एक लाख बढि भित्रिएपनि उनीहरू कहाँ छन् भन्ने जानकारी स्थानीय प्रशासनसँग छैन ।
ज्वरो नाप गरेर फर्किएकाहरूको तथ्यांक धर्का कोरेर संकलन गरिएको छ । हेल्थडेस्कमा खटिएका कर्मचारीले ५÷५ जना आएको तथ्यांक धर्का कोरेर रेकर्ड राख्छन् । ठूलो भीड भएका कारण नाम ठेगाना लेख्दा ढिलो हुने हेल्थ डेस्कमा खटिएका कर्मचारीहरू बताउँछन् । हेल्थ डेस्कको ३ चैतसम्मको तथ्याङकमा मात्र नाम र ठेगाना उल्लेख छ ।
डेस्कमा फागुन २२ गतेदेखि ३ चैतसम्म आएकाहरूमध्ये उच्च ज्वोरो भएकाहरूको सम्पर्क नम्बर पनि टिपिएको छ । तर, ४ गतेबाट आएकाहरूको गणना भने धर्का तानेर गरिएको छ । धर्का तानिएकाहरू कसैको परिचय उल्लेख छैन ।
विराटनगर रानी नाकाबाट ४ चैतमा १६ हजार ६ सय ८, ५ चैतमा १६ हजार १ सय २४, र ६ चैतमा २४ हजार १ सय ६३ जना नेपाल भित्रिएको तथ्यांक छ । यस्तै ७ चैतमा १६ हजार ७ सय ७० र ८ चैतमा १८ हजार १ सय ६३ जना नेपाल भित्रिएका थिए । त्यस्तै आइतबार १ हजार र सोमबार ८ सय नेपाल भित्रिएका छन् ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी धु्रब खड्का आइतबारसम्म आएकाहरूको संख्या टिपिएपनि ठेगाना टिप्न नसकिएको बताउँछन् । तापक्रम नापिएकाहरू शंका गर्नुपर्ने अवस्थाका नभएको बताउँदै उहाँले सोमबारबाट भित्रिएकाहरूको सबै विवरण उल्लेख गरिने बताउनुभयो । झापाको काँडडभिट्टा नाका हुँदै पछिल्लो एक सातामा ५३ हजार नेपाल भित्रिएका छन् ।
स्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत जीवन चौलागाइँका यसरी नेपाल भित्रिएकाहरूमध्ये केही किनमेलका लागि भारतीय बजार पुगेकाहरू हुन् । अधिकांश भने भारत तथा तेस्रो मुलुकबाट फर्किएकाहरू हुन् ।