विराटनगर । एक नम्बर प्रदेश सरकारका समाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले उपचार शुल्क तिर्न नसकी डेढ महिनादेखि अस्पतालमै बन्धक बस्न बाध्य सुत्केरीको उद्धार गर्नुभएको छ ।
विराटनगरको मुनालपथ स्थित विराट नर्सिङ होममा डेढ महिनादेखि बन्धक झापा विर्तामोड–३ सुकुम्बासी टोलकी २२ वर्षीय चेली सुन्दास राजवंशीको उपचार शुल्क तिरेर मन्त्री गजमेरले उद्धार गर्नुभएको हो ।
गत माघ २९ गते सुत्केरी गराउन विराट नर्सिङ होममा भर्ना भएकी सुन्दासले उपचार बापतको १ लाख २० हजार रुपैयाँ तिर्न नसक्दा अस्पतालबाट डिस्र्चाज हुन पाउनुभएको थिएन । अस्पतालबाट डिस्र्चाज हुन नपाएपछि सुत्केरी चेली र उनकी सासु अमृत सुन्दास भोकभोकै परेका थिए ।
दलित समुदायकी बुहारी उपचार खर्च तिर्न नसकेको जानकारी पाएपछि मन्त्री गजमेर आइतबार बिहान अस्पताल पुगेर जमानी बस्नुभएको थियो । मन्त्री गजमेर लिखित जमानी बसेपछि अस्पताल प्रशासनले डेढ महिनादेखि अस्पताल बस्न बाध्य चेलीलाई आइतबारै डिस्चार्ज दिएको छ । उनको उपचार खर्च प्रदेश सरकारले बेहोरिदिने राज्यमन्त्री गजमेरले जानकारी दिनुभयो ।
चेलीले जन्माएको छोराको भने जन्मिएकै दिन मृत्यु भएको थियो । सुकुम्बासी टोलमा घर भएका र जनमन गरि खाने अमृताको परिवार खर्च तिर्नसक्ने अवस्थामा छैन । उनका श्रीमान अनिल टेलरमा कपडा सिलाउने काम गर्छन् ।
अस्पतालबाट श्रीमती डिस्चार्ज गराउन नसकेपछि ऋण खोज्न गाउँ गएका उनले ऋण पाउन नसक्दा श्रीमती डिस्र्चाज गराउन सकेका थिएनन् । खाना खर्च सकिएपछि सासु अमृताले अस्पतालको क्यान्टिनमा भाडा माझेर सुत्केरी बुहारीका लागि खाना खुवाउने गर्नुभएको थियो ।