नक्कली आर्मी बनेर ठगी गर्ने पक्राउ

विर्तामोड । झापाको काँकरभिट्टाबाट नक्कली आर्मी बनेर लाखौं ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । आर्मी हुँ भन्दै प्रलोभनमा पारी किराना पसलेहरुलाई ठगी गरेको आरोपमा झापाको भद्रपुर नगरपालिका–१४ का ४६ वर्षीय राजकुमार राउतलाई पक्राउ गरिएको हो ।

मेचीनगर नगरपालिका–१२ चारआलीमा सुम्निमा पारुहाङ्ग किराना पसल संचालन गरी बस्ने डाकबहादुर राईलाई आफू आर्मी भएको बताउँदै राउतले सस्तो मूल्यमा सामान उपलब्ध गराइदिने भन्दै चारआली आर्मी ब्यारेकमा गाडी पठाउन भनेका थिए । सस्तोमा सामान पाउने लोभमा राईले गाडी र १ लाख २ हजार रुपैयाँ पठाएकोमा राउतले बाटोमा नै गाडीचालक ख्यामकुमार अधिकारीसँग पैसा लिएर गाडी व्यारेकमा लैजान भनेका थिए ।

सामान लिन गाडी आमीको व्यारेक पुग्दा मात्र घटनाको खुलासा भएको हो । झापाको चन्द्रगढी, चारआली, धुलावारी, बिर्तामोड, मोरङ्गको उर्लावारी, बिराटनगर र सुनसरीको धरान, ईटहरी, गोर्खा, काभ्रे लगायतका दर्जनौ स्थानहरुमा किराना पसलहरुलाई आर्मीको व्यारेकमा बचेको सामान सस्तोमा दिने भन्दै उनले ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर उनलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले रु ५४ हजार नगद, एक थान मोबाइल र सिमकार्ड बरामद गरेको छ ।

शनिबार, ०८ चैत, २०७६, रातीको ११:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर